युक्रेनमाथिको आक्रमण रोक्न रुसलाई अन्तर्राष्ट्रिय अदालतकाे आदेश

काठमाडाैँ । हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय(आईसीजे)ले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न आदेश दिएको छ । युक्रेनले आफ्नो पूर्वी भागका रुसी भाषी जनताको आमहत्या गरेकाले युद्ध शुरू गरिएको भन्ने रुसको दावीलाई आईसीजे खारेज गरिदिएको छ । यो आदेश बाध्यकारी छ । १५ मध्ये १३ न्यायाधीशले सहमति जनाएको यस फैसलामा भनिएको छ, ‘रुसी फेडरेशनले युक्रेनी क्षेत्रमा सन् २०२२ फेब्रुअरी २४ देखि गरेको सैनिक कार्वाही तुरून्त बन्द गर्नु पर्छ ।’ चीन र रुसका दुई न्यायाधीशले फैसलामा असहमति जनाएका हुन् ।
अदालतको अध्यक्षता गरिरहेकी अमेरिकी न्यायाधीश जन डनह्युले युक्रेनका रुसीभाषी नागरिकहरूको नरसंहार भएकोले हमला गर्नुपरेको भन्ने मास्कोको दाबी पुग्ने प्रमाण नभेटिएको बताएकी छन् ।
संयुक्त राष्ट्रसंघको एक अङ्ग रहेको यो न्यायालयको आदेशको उल्लंघनले गरिरहेमा रुस अझ एक्लिँदै जाने स्थिति आएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय न्यायालयमा रुसविरूद्ध युक्रेनले पूर्ण विजय हासिल गरेको छ ।’ आईसीजेले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न आदेश दिएको छ । अन्तर्राष्ट्रिय कानुन अनुसार यो आदेश बाध्यकारी छ । रुसले यो आदेश तुरुन्त मान्नु पर्छ । यो आदेश नमान्ने हो भने रुस अझ एक्लिँदै जानेछ ।
युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा यही फेब्रुअरी २६ मा मुद्दा दायर गरेको थियो ।
यसअघि रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भत्सना प्रस्ताव पास गर्न मतदान भएको थियो । तर रुसले भिटो प्रयोग गरी उक्त प्रस्ताव पास हुन दिएन ।
सुरक्षा परिषद्का १५ सदस्यमध्ये ११ ले प्रस्तावको पक्षमा भोट दिए भने चीन, भारत र युएई मतदानमा सहभागी भएनन् । सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एकले भिटो प्रयोग गरे कुनै पनि प्रस्ताव पारित हुँदैन । स्थायी सदस्यमा रुस, चीन, अमेरिका, बेलायत र फ्रान्स छन् । युक्रेनमाथि भइरहेको रुसी हमलाको विश्वव्यापी रूपमा विरोध भइरहेको छ । रुसमा पनि हमलाको विरोध भएको छ ।
सन् १९९१ मा सोभियत सङ्घको पतनपछि स्वतन्त्रता प्राप्त गरेको युक्रेन भूगोलका हिसाबले युरोपमा रुसपछिको दोस्रो ठूलो देश हो । युरोपेली सङ्घ र पश्चिमी युरोपसँग घनिष्ठता बढाएपछि रुसी आक्रमणको सामना गरिहेको युक्रेन कृषि, उद्योग, विज्ञान प्रविधि लगायत धेरै क्षेत्रमा अब्बल देश हो ।
स्वतन्त्रता प्राप्त गरे पनि सन् १९९१ देखि सन् १९९४ सम्म युक्रेनी राष्ट्रपति बनेका लियोनिड क्राभ्चुक र सन् १९९४ देखि सन् २००५ सम्म राष्ट्रपति बनेका लियोनिड कुच्मा पनि सोभियत सङ्घ विघटन भएपछि स्थापित रुसी महासङ्घकै समर्थक थिए । सन् २००० मा कुच्माले एकजना पत्रकार गियोर्गी गोङ्गाज्देलाई अपहरण गरी हत्या गर्न निर्देशन दिएको क्यासेट बाहिरिएसँगै वर्तमान सत्ताप्रति असन्तुष्टि बढ्दै गयो ।
सन् २००४ मा राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार भिक्टर युश्चेन्कोको चुनाव हुनु केही महिनाअघि विष खुवाएर हत्या प्रयास भएको थियो । ३१ अक्टोबर २००४ मा भएको पहिलो चरणको निर्वाचनमा कुच्माले उत्तराधिकारी निर्धारण गरेका भिक्टर यानुकोभिच र युश्चेन्कोले समान ३९ प्रतिशत मत प्राप्त गरेर दोस्रो चरणको निर्वाचनका लागि छनौट भए ।
यद्यपि नोभेम्बर २१ मा भएको दोस्रो चरणको निर्वाचनमा भने युश्चेन्कोभन्दा यानुकोभिच अगाडि आए । यो निर्वाचनमा युश्चेन्कोले ४६ प्रतिशत मत प्राप्त गरे भने यानुकोभिचले ४९ प्रतिशत मत ल्याए । तर, निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम सार्वजनिक हुने बित्तिकै युक्रेनभर प्रदर्शन शुरू भयो । सुन्तला क्रान्ति भनिने यो प्रदर्शनपछि अदालतले दोस्रो चरणको मतदान फेरि गर्न आदेश दियो । सोही वर्षको क्रिसमस डे का दिन भएको अर्को दोस्रो चरणको निर्वाचनमा भने युश्चेन्को ५२ प्रतिशत मत ल्याउँदै विजय भए ।
सन् २०१० मा भएको राष्ट्रपतीय निर्वाचनमा भने रुस समर्थित यानुकोभिच विजयी भएका थिए । तर यानुकोभिच धेरै लामो समयसम्म सत्तामा टिक्न सकेनन् । अर्को क्रान्ति शुरू भयो । सन् २०१४ मा युक्रेनमा यानुकोभिचलाई अपदस्थ गर्ने गरी युरो मैदान क्रान्ति भयो ।
अधिनायकवादी रुसबाट टाढा रही अरू युरोपेली देशहरूसँग साझेदारी बढाउनुपर्ने र मुलुकमा लोकतन्त्रको स्थापना हुनुपर्ने माग राख्दै लाखौँ जनता सडकमा ओर्लिए । क्रान्तिकारीले जिते ।यानुकोभिच भागेर रुस पुगे ।
मैदान क्रान्तिसँगै युक्रेनमा आफ्नो साझेदार गुमाएको रुसले त्यस लगत्तै युक्रेनको क्राइमियामा सेना पठाएर ‘जनमत सङ्ग्रह’ को आयोजना गर्यो । जसमा ९७ प्रतिशतले रुसमा विलय हुन चाहेको भन्दै रुसले क्राइमियालाई आफूमा गाभ्यो ।
सन् २०१४ मा रुसी समर्थक राष्ट्रपतिको बर्खास्ती संगै रुसले युक्रेनको क्राइमिया गाभेपछि रुसकै प्रत्यक्ष सहायतामा रुसी भाषीको बाहुल्यता रहेको पूर्वी युक्रेनको डोनेत्स्क र लुहान्स्क क्षेत्रमा सशस्त्र विद्रोह शुरू भयो । सन् २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यी दुई राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएर २४ फेब्रुअरीमा युक्रेनमाथि सैनिक आक्रमण शुरू गरेको हो । स्राेतः INS न्युज








