आफैँ भाडा तोक्ने यातायात व्यवसायीको चेतावनी

काठमाडौँ । यातायात व्यवसायीहरूले सार्वजनिक सवारीको भाडा आफै बढाउने चेतावनी दिएका छन् । पेट्रोलियमको मूल्य ९ पटक बढ्दासमेत भाडा समायोजन नगरिएको भन्दै व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

भाडा समायोजनका लागि सरकारसँग पटक पटक माग गरिए पनि कुनै वास्ता नगरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘हामी अतिरिक्त भाडा वृद्धि हुनुपर्छ भन्दैनौँ, बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडा समायोजन गर्नुपर्‍यो मात्र भनेका हौँ,’ उनले मकालुखबरसँग भने, यसो गर्दा पनि भाडा समायोजन भएन भने आन्दोलनको विकल्प छैन । हामी आफैँ भाडा तोक्छौँ ।’

गत असार २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले यात्रुवाहक सवारी साधनको भाडा अधिकतम २८ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २० प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा अधिकतम २६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो ।

तर, अहिले यो भाडा दर पर्याप्त नभएको व्यवसायीहरूको गुनासो छ । ‘गत असार २७ गते यता पेट्रोलियम पदार्थको मूल्य ९ पटक वृद्धि भइसकेको छ । एक लिटरमै अधिकतम ३४ रुपैयाँसम्मले बढिसकेको छ । तर भाडा समायोजन खै ?,’ सिटौलाले भने, ‘यो त अचाक्ली भइसक्यो । हामीले सरकारलाई कर कटौती गरेर विकल्प खोज्ने हो कि भनेका थियौँ खोजेन । मूल्य बढाइरह्यो । अब हामी पनि गाडी भाडा बढाउँछौँ ।’

पेट्रोलियममा अत्यधिक मूल्य वृद्धि भएका कारण थेग्न नसक्ने अवस्थामा पुग्दासमेत विद्यार्थी, उपभोक्तावादीहरू चुप लागेको उनको आरोप छ । उनकाअनुसार कोरोना कहरका कारण लामो समय चपेटामा परेको यातायात व्यवसायीहरू बैङ्कको किस्ता बुझाउन नसकेको अवस्थामा आयल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा थप मर्कामा परेका छन् । व्यवसायीलाई मात्रै नभएर आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी मूल्य बढेको उनको भनाई छ ।

यातायात व्यवस्था विभागबाट २०७८ असार २७ गते भाडा समायोजन गर्दा डिजेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेकोमा हाल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । त्यो समयमा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ रहेकोमा हाल १५५ रुपैयाँ पुगिसकेको छ ।

नेपाल आयल निगमले आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो बढाएको छ । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।

हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । यससँगै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ । खाना पकाउने एलपी ग्यासको मुख्य भने बढेको छैन । यद्यपि प्रतिसिलिण्डर निगमलाई ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *