‘प्रचण्ड र माधव कम्युनिष्ट आन्दोलनका मुख्य खलनायक’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक भएको आरोप लगाएका छन् ।

सोमबार नेकपा एमाले बुटवल उपमहानगर कमिटिले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अदालतलाई समेत दुरुपयोग गरेको आरोप लगाए ।

उपाध्यक्ष पौडेलले नेकपा एमालेलाई फुटाउन देशी विदेशी प्रतिगामी शक्तिहरू लागेको बताउँदै प्रचण्ड र माधव कुमार नेपाल प्रतिगामी शक्तिहरूको मतियार बनेको जिकिर गरे । उनले वामपन्थी शक्तिको सरकार गिराएर कांग्रेसको पछि लागेका प्रचण्ड र माधव कुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै ठूलो अपराध गरेको बताए ।

जनताले उनीहरूलाई माफी दिन नसक्ने बताउँदै नेता पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई धोका दिनेहरू समाप्त भएर जाने ठोकुवा गरे । उपाध्यक्ष पौडेलले नेकपा एमालेले देश र नेपाली जनताको समृद्धि विकास चाहेको उल्लेख गर्दै जनताले आगामी चुनावमा प्रतिफल दिने बताए ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रतिगामी शक्तिहरूका मतियारहरूले अदालतबाट सरकार गठन गरेर अदालतकै धज्जी उडाएको बताउँदै यसमा मुख्य दोष प्रचण्ड माधवको नै रहेको दावी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =