स्थानीय निर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

काठमाडाैँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादी क्रान्तिकारीले आसन्न स्थानीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेकाे छ । फागुन २५ देखि २९ गतेसम्म बसेकाे बैठकले साे निर्णय गरेकाे हाे । महासचिव किरणले निर्वाचन बहिष्कार गर्नुपर्ने प्रस्ताव राजनीतिक दस्ताबेजमार्फत गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेकाे छ ।
महासचिव किरणले ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकमा प्रस्तु गरेकाे दस्तावेजमा भनिएकाे छ— ‘बहिष्कार आन्दोलनलाई दुई महिने अभियान बनाइ सञ्चालन गर्ने निर्णयसमेत लिइएको छ ।’ महासचिव किरणले बैठकमा ब्रिफिङ्ग गर्दै भनेका छन्— ‘वैशाख ३० गते हुने स्थानीय निर्वाचन बहिष्कार गर्नुपर्छ । यसका लागि अभियान नै चलाउनुपर्छ ।’
बैठकले एमसीसीको विरोध गर्दै यसविरुद्ध सशक्त विरोध तथा भण्डाफोरसहित राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र सम्झाैताकाे खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ । यसैगरी बैठकले पार्टी एकताबाट आएका केही नेताहरूलाई केन्द्रीय समितिमा समावेश गर्ने निर्णय पनि लिएको छ ।
महासचिव किरणले प्रचण्डले भनेझैँ शान्तिपूर्ण बाटाेबाट र विप्लवले भनेझैँ जनमत संग्रह’बाट पनि समाजवाद नआएकाे दाेहाेर्याउँदै आएका छन् । उनले जनवादी क्रान्तिबाट मात्रै समाजवादसम्म पुग्न सकिने दाबी गर्दै आएका छन् ।










