चुनावी अभियानमा लाग्न उपेन्द्रकाे निर्देशन

काठमाडाैँ । जनता समाजवादी पार्टी [जसपा], नेपालका अध्यक्ष उपेन्द्र यादवले नेता/कार्यकर्ताहरूलाई स्थानीय निर्वाचनकेन्द्रित हुन निर्देशन दिएका छन् ।पार्टीकाे केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष यादवले यस्ताे निर्देशन दिएका हुन् ।
प्रत्येक केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान शुरू गर्न लगाइने यादवले बताएका छन् । गाउँ, नगर, वडालगायत पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष यादवकाे भनाइ छ । ‘प्रत्येक केन्द्रीय सदस्यहरू एउटा पालिकामा, नगर, महानगरमा निर्वाचन अभियन्ताको रूपमा निर्वाचन अभियानलाई सञ्चालन गर्न संघीय परिषद्का साथीहरू, प्रदेशका साथीहरू, जिल्लाका साथीहरू, गाउँ, नगर, वडालगायत पार्टीका विभिन्न तहमा काम गर्ने साथीहरूसँग समन्वय गरेर अभियान चलाऔं । यसरी गयौँ भने प्रत्येक पालिकामा हामी प्रभावकारी हुन्छौं,’ अध्यक्ष यादवले भनेका छन् ।
वैशाख ३० गतेसम्मका लागि उक्त अभियान गर्ने र त्यसपछि फेरि नयाँ निर्णय गर्ने अध्यक्ष यादवकाे भनाइ छ । पार्टीलाई स्थापित गर्नका लागि पनि स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउनु पर्ने उल्लेख गर्दै अध्यक्ष यादवले भनेका छन्— ‘भरपुर प्रयास गराैँ । जितिन्छ ।’








