नेपालको पर्यटन प्रवर्द्धनमा जुटेका इटालियन ‘कार्लो मेम्बर्टो’

काठमाडौँ । नेपालको सुन्दरता देखेर जो कोही पर्यटक मोहित हुन्छन् । भौतिक पूर्वाधारमा अन्य देशभन्दा पछाडि रहेपनि सुन्दरतामा तुलना गर्न नमिल्ने उनीहरूको प्रतिक्रिया हुन्छ । नेपाल घुम्न आएको धेरै पर्यटक सुन्दर दृश्य मन र क्यामेरामा कैद गरेर स्वदेश फर्किन्छन् ।

तीमध्ये कोही फेरि नेपाल आउँछन् त कोही सम्झनामै रमाउँछन् । तर इटालियन नागरिक ‘कार्लो मेम्बर्टो’लाई भने नेपालको सुन्दरताले स्वदेशलाई भुलाइदियो । सन् २००६ मा हिमालयको पदयात्रामा निस्केका इटालियन पदयात्री कार्लो मेम्बर्टोलाई नेपालको प्राकृतिक सुन्दरता र नेपाली आतिथ्यताले मन मुटुमा स्थान बनायो । त्यही भएर त, केही समयको नेपाल यात्रापछि स्वदेश फर्किएका उनी नेपाल र नेपालीको मायाले पुनः नेपालमै फकिए ।

त्यसपछि उनले नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ शुरु गरे पर्यटन व्यवसाय । इटालीका नागरिकलाई नेपाल घुमाएर पर्यटन प्रवर्द्धनमार्फत नेपालीको रोजगारमा टेवा पुग्ने उद्देश्यका साथ पर्यटनमा लागेको उनी बताउँछन् । नेपालका विभिन्न स्थानमा घुम्दै गर्दा यहाँको पीडा र समस्या बुझ्दै जाँदा रोजगारी मात्रै नेपालको समस्या नभएको उनले महसुस गरे । र, शुरु गरे ‘फिनाले फर नेपाल’ । यो अभियान युरोपकै प्रसिद्ध पर्यटकिय क्षेत्र फिनाले लिगुरियाबाट सन् २००९ मा शुरुवात गरेको कार्लो मेम्बर्टोले बताउँछन् । यो इटालीमा दर्ता भएको एनजिओ हो ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेका कार्लो मेम्बर्टोले भने, ‘नेपालको पर्यटन, सांस्कृतिक विविधता विश्वभर चिनाउन र विभिन्न रमणीय ठाउँहरूप्रति विदेशी पर्यटकको आकर्षण बढाउन ‘फिनाले फर नेपाल’ अभियान शुरु गरेँ ।’ इटालीमा जन्मिएपनि नेपाल र नेपालीप्रतिको माया र सम्मानले यो अभियान शुरु गरेकाे उनी भन्छन् ।

सो अवसरमा उनले ‘फिनाले फर नेपाल’ पर्यटन प्रवर्द्धन तथा पुनर्स्थापना र भविष्यबारे पनि जानकारी गराए । खासमा फिनाले अर्थात् इटालीको एक सुन्दर पर्यटकीय नगरी । फिनाले एक सुन्दर शहर, जहाँ बर्सेनि लाखौँ पर्यटक ओइरिन्छन् ।

उनको इटालीमा दर्ता भएको निजी व्यवसाय कार्लोसँग साहसी यात्रा अर्थात् VIAGGIA CON CARLO अभियान छ । जसमार्फत पर्यटन प्रवर्द्धन र प्रचार गर्छन् । नेपालजस्तै चट्टानयुक्त अग्ला पहाडहरू भएको फिनालेमा पर्यटकहरू ट्रेकिङ गर्न मन पराउँछन्, त्यहाँ बाइकिङ ट्रेलहरू छन्, रक क्वाइम्बिङ गर्न सकिन्छ ।

कार्लो मेम्बर्टोकाअनुसार समुद्री सतहसँग जोडिएको भूभाग समेत भएकाले त्यहाँ कोही डुङ्गा खियाउन, पौडी खेल्न, स्नोर्कलिंग र सनबाथिङ गर्न आउँछन् र रातको समयमा समुद्री तटमा रहेका डिस्कोहरूमा रमाइलो गर्छन् । त्यही सुन्दर शहरका कार्लो माम्बेर्टो नेपालमा छन् । उनी नेपाल आएको झण्डै १४ वर्ष बितेछ । उनी नेपालमै छन् । ‘म यहाँ आउँदा ३० वर्षको थिए । जवान थिएँ, धेरै जोसिलो थिएँ ।,’ उनी हाँस्दै भन्छन्, ‘अहिले ४४ वर्षको भइसके नेपालमै छु । यहाँको पर्यटन र सामाजिक क्षेत्रमा केही गरिरहेको छु । केही गर्ने कोसिस गर्दैछु । यतै रमाइलो लाग्छ ।’

उनी विगत १४ वर्षदेखि प्रत्येक वर्ष ५ महिना नेपालमै बिताउने गरेका छन् । उनका लागि नेपाल इटाली पानी पँधेरो जस्तै भएको छ ।

उनी बेला बेला मक्ख हुँदै उठ्थे आफ्नो कथा सुनाउँथे । फेरि थामिन्थे यो क्रम केही बेर चल्यो । कार्लो मेम्बर्टोको आमाबुवा बोल्न र सुन्न नसक्ने भएपनि उहाँहरु दैनिक काम गर्न सक्षम छन् । आफू नेपालमा पर्यटनको अथाह सम्भावना देखेको उनी सुनाउँछन् । ‘नेपाल एक जादुमयी देश हो । यहाँ सब थोक छ । यहाँको पर्यटन क्षेत्रको विकासका लागि सबै लाग्नुपर्छ,’ उनी भन्छन् ।

उनले नेपालमा रहेर रक क्लाइम्बिङ, हिउँमा चिप्लेटी खेल्ने ‘स्की’ लगायतका साहसिक खेलको सम्भावना खोजी गरे । उनले शुरू गरेको रक क्लाइम्बिङ नगरकोटमा सञ्चालन भइरहेको सुनाए । उनले नेपालमा त्यस्ता साहसिक काम गराउने मात्र होइन नेपालीलाई समेत सिकाएर दक्ष बनाउने गरेका छन् । कार्लो मेम्बर्टो नेपालबारे इटालीमा थप प्रचार प्रसार गर्न चाहन्छन् । हालसम्म हजारौँ इटालियन पर्यटकलाई नेपाल भ्रमण गराइसकेका कार्लोको अबको योजना पनि नेपालमा इटालियन पर्यटक भित्र्याउन सहयोग गर्ने नै हो ।

उनी हाल ‘फिनाले फर नेपाल’मार्फत थुप्रै सामाजिक कार्य समेत गर्दै आएका छन् । उनी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नेदेखि पर्यटकीय क्षेत्रको फोहोर संकलन गर्ने लगायतका अभियान चलाउँछन् । कार्लो मेम्बर्टो ‘फिनाले फर नेपाल’मार्फत प्रत्येक वर्ष सेप्टेम्बर अन्तिम शुक्रबार-आइतबार इभेन्ट गर्छन् । उक्त इभेन्टबाट संकलन भएको रकम नेपालमा आर्थिक अभावले विद्यालय जान नपाएकाहरूलाई प्रदान गर्छन् र, उनीहरूलाई विद्यालय जान आकर्षित गर्ने गरेका छन् । साथै सो इभेन्टमा सहभागी इटालियन र लाखौँ युरोपियनहरूलाई नेपालको पर्यटनबारे जानकारी दिन्छन् । जसले गर्दा नेपालको पर्यटनमा टेवा पुगेको छ, उनको यो अभियानबाट पछिल्लो समय नेपाल आउने इटालियन र युरोपियनहरूको सङ्ख्या बढेको छ ।

कोरोना महामारीको समयमा नेपालमा हजारौँ व्यक्तिलाई निःशुल्क खाना खुवाएका कार्लो यहाँका छाडा कुकुरलाई उद्धार गरी इटली पठाउने काम समेत गर्छन् । उनी भन्छन्, ‘म प्रकृतिप्रेमी व्यक्ति हुँ । अझ रोचक कुरा त के छ भने उनले युरोपभरका बहिरा र बोल्न नसक्ने व्यक्तिहरूलाई समेत नेपाल भ्रमण गराएका रहेछन् ।

व्यावसायिक पर्यटनमा होमिएका कार्लो मेम्बर्टोको इटालीमा दर्ता भएका संस्थाहरू छन् । उनको आफ्नै समुन्द्रमा चल्ने पानी जहाज छ भने पर्यटनमा लागि आवश्यक पर्ने जुत्ता (LA SPORTIVA) र ट्राभल गियर (FERRINO) कम्पनीका मालिकसँग व्यक्तिगत सम्बन्ध निकै सुमधुर छ । उनको पारिवारिक पृष्ठभूमि धनाढ्य हो भने त्यहाँका चर्चित व्यक्तित्व पनि हुन् । उनी इटाली गएको बेला युरोपका पर्यटकहरूलाई जलयात्रा गराउँछन् । उनको पानी जहाजमा नेपालको चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा लगाइएको छ ।

कार्लोको विश्व प्रसिद्ध क्लाइम्बिंग बुट कम्पनी र FERRINO ट्रेकिङ उपकरण कम्पनीका मालिकसँग राम्रो पारिवारिक साठगाँठ भएकाले उहाँहरुलाई समेत नेपाल भ्रमण गराएर नेपाल र साहसिक पर्यटन सम्बन्धी ज्ञान आदान प्रदान गर्न सम्भव भएको छ ।

कार्लोसँग सहकार्य गरिरहेका नेपाली पर्यटन व्यवसायी अच्युत गुरुङका अनुसार यो उमेरमा पनि कार्लो एक्लै छन् । ठट्टा गर्दै गुरुङ भन्छन्, ‘कार्लोलाई नेपालको मायाले यसरी तानेको छ । उनले आफ्नो सब थोक नेपाललाई ठाने । उनलाई नेपालको मायाले यसरी तानेको छ कि उनले कुनै प्रेमिका समेत बनाउने फुर्सद पाएनन् ।’

सो कार्यक्रममा पर्यटनसँग सम्बन्धित सरोकारवाला निकायको समेत प्रतिनिधित्व रहेको थियो । पर्यटन व्यवसायी तथा टानका पूर्व कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले कोभिड-१९ ले धराशायी बनेको पर्यटन व्यवसायलाई माथि उठाउन सरकारले दिगो योजना ल्याउनुपर्ने बताए । त्यसका साथै पर्यटकीय क्षेत्रमा एकद्वार नीति मार्फत सरकारले कर असुली गर्नुपर्ने सुझाव व्यक्त गरे ।

एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रीय महासचिव तथा युवा स‌ंघ नेपालका केन्द्रीय सचिवालय सदस्य टिकाराम नेपालीले कोरोना भाइरसका कारण अस्तव्यस्त भएको पर्यटन क्षेत्र बिस्तारै जुर्मुराउन थालेकोले पर्यटन मजदुरहरू उत्साहित भएको बताए । सरकारले नेपालको पर्यटन क्षेत्रमा लागेका मजदुरको अस्तित्व सुरक्षित गर्न नसकेको र उनीहरूले हकहितमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

सरकारले नेपालको पर्यटन क्षेत्रमा लागेका मजदुरको अस्तित्व सुरक्षित गर्न नसकेको उनको गुनासो छ । नेपालको पर्यटन विकासमा पर्यटन व्यवसायी र पर्यटन मजदुर एक सिक्काका दुई पाटा भएकोले नेपालको पर्यटन प्रवर्द्धनका लागि सँगै हातेमालो गरेर अघि बढेमा पर्यटन क्षेत्रको विकास हुने उनले धारणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *