मुलुक आर्थिक संकटमा पर्दा पनि सरकार गम्भीर भएन : ज्ञवाली

रुपन्देही । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको आर्थिक अवस्था नाजुक बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । गठबन्धन सकार बनेपछि मुलुकले आर्थिक घाटा व्यहोर्नुका साथै मुद्रा स्फीतिको दर चिन्ताजनक अवस्थामा गएकोप्रति दुःख व्यक्त गरेका हुन् ।

गुल्मी रुरु क्षेत्र-रुपन्देही सम्पर्क समाजले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बढ्दो महँगी र मुलुक आर्थिक संकटमा पर्दा पनि सरकार र गठबन्धन दलहरू गम्भीर नभएको उनको आरोप छ । एमसीसीको विषयमा भएको निर्णयप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारुढ दल भित्रै एमसीसी बारेको धारणा फरक र दाेहाेराे चरित्रको देखिएको उल्लेख गर्दै उनले त्यस विषयमा संसद्मा छलफल गर्ने वातावरण समेत नगराएर पारित गर्नु दुःखद भएको बताए ।

उपमहासचिव प्रदीप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूले एकल बहुमत हासिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको बताए । एमालेको दबाबपछि स्थानीय निर्वाचनको मिति तय गरिएको बताउँदै उनले त्यसअघि गठबन्धन दल निर्वाचनबाट भाग्न खोजेको बताए । एकल रूपमा बहुमत नआउने भएपछि एमालेसँग डराएर दलहरूले आफ्नो पार्टीविरुद्ध गठबन्धन गरेको उनको आरोप छ ।

कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरीले नेता-कार्यकर्ताहरूलाई आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि तीव्रताका साथ लाग्न आग्रह गरेका छन् । मुलुकलाई निकास दिने र वैकल्पिक शक्ति नै नेकपा एमाले भएको दाबी गर्दै उनले जनताको साथ पाउनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *