‘विश्व भूराजनीतिमा नेपालले संवेदनशीलरूपमा पाइला चाल्नुपर्छ’

काठमाडाैँ । मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा ‘विश्व भूराजनीति र नेपालले लिनुपर्ने बाटो’ विषय भर्चुअल प्रवचन आज सम्पन्न भएको छ ।
भर्चुअल प्रवचनलाई नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक डा. खगेन्द्र प्रसाईंले सहजीकरण गरेका थिए । कार्यक्रमको सहजीकरण गर्दै डा प्रसाईँले विश्व भूराजनीतिमा नेपालले संवेदनशीलरूपमा पाइला चाल्नुपर्नेमा जोड दिए ।
उनले भूगोलले मात्र विश्व राजनीतिमा ठूलो अर्थ नराख्ने तर त्यहाँ रहेका प्राकृतिक सम्पदा र आर्थिक सम्भावना नै भूराजनीतिको निर्णायक पक्ष भएको भन्दै नेपाल प्राकृतिक र सामरिक दुवै दृष्टिले संवेदनशील ठाउँमा रहेको प्रष्ट्याए । प्रसाईंले भने, “भूराजनीतिमा भूगोलले मात्र ठूलो अर्थ राख्दैन । तर जब त्यहाँ प्राकृतिक सम्पदा, आर्थिक सम्भावना र सामरिक महत्व जोडिन्छ, त्यो निर्णायक हुन्छ । नेपाल त्यस्तै ठाउँमा छ ।”
विश्वमा देखिएको द्वन्द्व शक्तिको केन्द्र सर्दै गरेको परिस्थितिको उपज भएको प्रसाईँको विश्लेषण छ । “हरेक आर्थिक सङ्कटपछि शक्तिको केन्द्र सर्ने गर्दछ, यो सामाजिक विकासको ऐतिहासिक अनिवार्यता हो”, प्रसाईँले भने । नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढतापूर्वक अडिनुपर्नेमा जोड दिए ।
प्रवचनमा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले नेपाल भूराजनीतिक दृष्टिले संवदेनशील ठाउँमा रहेकाले हरेक विषय र मुद्दामा गम्भीररूपमा सोचेर मात्र निर्णय लिनुपर्ने बताए । त्यस्तै वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेल र महासचिव इन्द्रराज भट्टराईले नेपालजस्ता मुलुकले भूराजनीतिक संवेदनशीलतामा विशेष ध्यान दिनुपर्ने बताए ।








