प्रचण्डलाई स्वागत गर्ने दिन विष्टले किन छोडे माओवादी ?

एमसीसीलाई कारण बताएपनि मन्त्री नबनाएकोमा रुष्ट थिए विष्ट

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पार्टीबारे प्रशिक्षण दिन कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगे । तर, कर्णाली प्रदेशसभाका प्रमुख संचेतक समेत रहेका सांसद ठम्मरबहादुर विष्ट भने काठमाडौँमा थिए । उनले त्यही दिन सांसद पद र माओवादी केन्द्र पार्टी परित्यागको घोषणा गरे ।

विष्टले राजीनामा पत्र कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही र पार्टीको केन्द्रीय कार्यलयमा बुझाई सकेको बताएका छन् । विष्टले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरिएको र त्यसमा पार्टीको सहमतिमा चित्त नबझेकाले पार्टी परित्याग गरेको बताएका छन् । साथै कर्णालीमा गैर–सांसदलाई मन्त्री बनाउने प्रचण्डको निर्णयप्रति पनि आफू सहमत हुन नसकेको बताए ।

विष्टले भने, ‘हाम्रो पार्टीको नीति, विधि र सिद्धान्त फरक छ तर, अध्यक्ष प्रचण्डले त्यसको ढाडो उंल्लघन गरेर राष्ट्रघाती एमसीसी पास गर्नमा निर्णयक भूमिका खेल्नुभयो । यो कुरा पार्टी भित्रका धेरै नेता, कार्यकर्तासँगै मलाई पनि पटकै मन परेको थिएन त्यसैले पार्टीमा बसिरहन उचित लागेन ।’

विष्टले मकालुखबरसँग भने, ‘उहाँ सुर्खेतमा कर्णाली प्रदेशभरका माओवादी कार्यक्रतालाई परीक्षण तथा अभिमुखीकरण दिन आउनुभयो, मैले यता काठमाडौंबाट राजीनामाको घोषणा गरे । यो संयोग जुराएर नै बोल्ड निर्णय लिएको हुँ ।’

विष्टले एमसीसी संसदबाट पास भएको दिन पनि फेसबुकमा लामो स्टाटस लेख्दै पार्टीको निर्णयको चर्को विरोध गरेका थिए ।

पार्टीले गल्ती गरिरहने र कार्यकर्ताले विरोध गरिरहँदा पनि पार्टी अध्यक्षले एकलौटी निर्णय गर्ने भएपछि माओवादी केन्द्र मै नबस्ने निर्णयमा पुगेको विष्टले बताए । यस्तै, प्रदेश सभामा पनि आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन भइरहेको तर, आफूले जति सल्लाह, सुझाव र विरोध गरिरहे पनि त्यो नरोकिएको भन्दै सरकारकै तलव, भत्ता खाएर सरकारकै विरोध गरिरहन उचित नलागेको भन्दै प्रदेशसभा बाट पनि राजीनामा दिएको बताए ।

सभामुख राजबहादुर शाहीलाई दिएको दुई पेजको राजीनामा–पत्रमा विष्टले माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘एमसीसीको विषयमा कथित व्याख्यात्मक टिप्पणीको ढ्वाङ रच्ने एवं अर्कोतिर आफ्नो झुट र कर्तुतलाई ढाकछोप गर्न सयौँ झुटका पुलिन्दा फ्याँकेर जनतालाई मूर्ख बनाउने काममा माओवादी नेतृत्व तल्लीन छ ।

राजीनामाको भित्री कुरा
विष्टले एमसीसी पारित गरिनु, आफूले पार्टी छोड्नुको मूख्य कारण रहेको जिकिर गरेपनि उनी अध्यक्ष प्रचण्डको बचन अनुसार आफूलाई प्रदेश सरकारमा मन्त्री नबनाइएकोमा रुष्ट थिए । प्रचण्डले उनको ठाउँमा हुम्लाका गैर–सांसद र यसअघि मूर्ति चोरीको अभियोगमा जेल परेका कार्चेन लामालाई मन्त्री बनाएपछि उनी प्रचण्डप्रति रुष्ट थिए ।

विष्टले एमसीसी मात्र नभई पार्टीले लाभको पदमा पुग्न दिने वातावरणको सिर्जना नगरेको भन्दै एक वर्ष अघि पनि माओवादी पार्टी छाडेका थिए । उनी नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा अर्थात एमालेमा लागेका थिए । उनलाई एमालेको केन्द्रीय सदस्य नै बनाइएको थियो । उनले राजा महेन्द्र पछिको राष्ट्रबादी ब्यकि्त केपी ओली नै भएकाले आफू ओलीतिर लागेको बताएका थिए । तर, ०७७ चैत्र १ मा उनी प्रचण्ड कहाँ पुगेर आफू पार्टीभित्रैबाट पीडित भएको बताएका थिए । त्यसपछि प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएपछि उनी माओवादीमा फर्किएका थिए ।

२०७४ सालको निर्वाचनमा माओवादीका तर्फबाट कर्णाली प्रदेशसभामा सुर्खेत क्षेत्र नं. (क) बाट निर्वाचित उनी ०७७ असोजतिर आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक हुन् ।

अविश्वास प्रस्तावमा मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने माओवादी कै अर्का सांसद धर्मराज रेग्मी पनि थिए । तर, माओवादीले हस्ताक्षर फिर्ता नलिए पछि कारबाही गर्ने भनेपछि विष्टले तत्काल सच्चाएका थिए भने अर्का सांसद रेग्मीले हस्ताक्षर फिर्ता नलिएपछि उनको सांसद पद खारेज भएको थियो । रेग्मी अहिले एमालेमा छन् ।

प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएपनि विष्टलाई पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री नबनाई मुख्य सचेतकको जिम्मेवारी दिएका थिए । शाहीले दुई पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनलाई मन्त्री बनाएनन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुँदा पनि उनको हुने चर्चा थियो । तर, गैर–सांसदलाई मन्त्री बनाएपछि विष्ट गठबन्धनविरुद्धमा उत्रिएका थिए ।

उनले राजीनामा दिएपनि पार्टी प्रवेशको बारेमा भने जानकारी दिएका छैनन । तर, उनी यसअघि नै एमाले नजिक बनेकाले फेरि एमाले मै जाने सम्भावना रहेको स्राेतको दावी छ । एमालेसँग पद तथा भूमिकाको कुरा मिलेपछि उनी एमाले मै जाने सम्भावना रहेको उनी निकट नेताहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *