संसद भत्ता खाने थलाे भयाे : केपी ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोको रूपमा मात्र प्रयोग गरिएको बताए ।
शनिबार काठमाडौँमा नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले मुद्दा लडेर ल्याइएको संसदलाई गठबन्धन दलले निकम्मा बनाएको र भत्ता खानेबाहेक कुनै काम हुन नसकेको बताएका छन् ।
उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर गरे । त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरे । एमालेलाई चूनाव जित्नका लागि जनताबाहेक कसैको आवश्यकता नरहेको उनकाे भनाई छ । उनले एमालेले चूनाव जित्ने भएकालै नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गरे ।
वर्तमान सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भएको टिप्पणी गर्दै जनताको अभिमतबाट उखेलेर मिल्काइदिने उनले बताए । त्यस्तै उनले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरू र सरकारमा रहेको मन्त्रीहरूलाई सत्ताको उन्माद लागेको उल्लेख गरे ।
अध्यक्ष ओलीले यसअघि आफ्नो नेतृत्वको सरकार हुँदा आफूलाई असहयोग गर्न कांग्रेसले आफू निकट कर्मचारीलाई निर्देशन दिएको चर्चा गर्दै अहिलेको सरकारलाई भने पूर्ण रूपमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिए ।








