विद्युतीय राहदानी लिन खेताला

काठमाडौँ । विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ । राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो छिटो आउने भन्दै मानिसहरूले पैसा तिरेर अन्य व्यक्तिलाई खेताला स्वरूप लाममा राख्ने गरेको पाइएको हो ।
अनलाइन फाराम भरेपछि पाएको मितिमा आएर विद्युतीय राहदानीका लागि लाइभ इन्रोलमेन्टमा बस्नुपर्ने हुन्छ । यसबीचमा अनलाइन फाराम भरेकाहरूले आवश्यक शुल्क बुझाउने र अनलाइनमा बुझाएको कागजपत्रको सक्कली कागजपत्र रुजु गराउनुपर्ने हुन्छ । यी दुई काम छिटो गर्नकै लागि रातिदेखि नै लाममा बस्न खेतला राख्ने गरेका हुन् । शुक्रबार विभाग परिसरमा आइपुगेका एक युवकले त्यहीँ भेटिएका एक खुद्रा व्यापारीसँग सोधे, ‘अब कहिले आऊँ ?’ खुद्रा व्यापारी युवतीले उहाँको राजस्व तिर्ने भौचर भर्दै भने, ‘तपाईँ अब सोमबार दिउँसो आउनुस्, म एकजना मानिसलाई पैसा तिर्ने लाममा राखिदिन्छु, त्यसको एक हजार दुई सय रुपियाँ लाग्छ । राजस्वको पैसा त्यही दिन लिएर आउनुस्, अर्को मान्छे उभिएको ठाउँमा गएर ठाउँ लिएर पैसा तिर्नुस् ।’
त्यसअघि पनि ती युवाले कागजात रुजु गराउनका लागि पनि पैसा तिरेर मान्छे लाममा राखेका थिए । पालो आउने बेलामा भने आफैँ लाममा बसेका थिए । उनले भने, ‘के गर्ने टाढाबाट आउनुपर्छ, भोकभोकै लाइनमा बस्नुभन्दा अलिकति पैसा माया मारेकै जाती ।’ अनलाइन फाराम भर्दा पनि लाइभ इन्रोलमेन्टको मिति दुई महिनापछि मात्र आएको गुनासो उनले पोखे ।
रातिदेखि सडकमा लाममा बसेकालाई विभागले बिहान ७ बजेपछि गेट खोलेर भित्र लाममा पसाल्ने गरेको छ । खेतालाको व्यवस्था नजिकका कम्प्युटर पसल, खुद्रा व्यापारी आदिले गरिदिने गरेका छन् । यसबाट केही रकम आफैँ राखेर बाँकी लाममा बस्नेलाई दिने गरेको खुलासा भएको छ । –गाेरखापत्र दैनिकबाट








