लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना बिमा

रूपन्देही । लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना बिमा गरिएको छ । पकारिता गर्ने क्रममा पत्रकारहरू भवितव्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना बिमा गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरूका लागि शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय बिमा कम्पनी लिमिटेड भैरहवा र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच आपसी समझौता गरिएको हो ।

मन्त्रालयको तर्फबाट उप सचिव दामोदर भण्डारी, बिमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्तराज गिरी बीच कानुनी प्रक्रिया पुर्याएर सम्झौता गरिएको हो । सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पत्रकारहरूसँग समन्वय गरेर काम गर्ने बताएका छन् ।

आम नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आम नागरिकको सुरक्षाप्रति संवेदनशील रहेको मन्त्री शर्माको भनाइ छ । मुलुकको परिवर्तनमा पत्रकारहरूको ठूलो भूमिका रहेकाले पत्रकारहरूको दुर्घटना बिमादेखि हरेक प्रकारका कार्यक्रमका लागि प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्धता जनाए ।

उनले बिमा कम्पनीहरूका झन्झटिला प्रक्रियालाई सुधार गरेर नागरिकलाई सहज रूपमा सेवादिनआग्रह गरे । मन्त्री शर्माले सरकारी कामहरू ढिलासुस्ती हुने गरेको स्वीकार गर्दै भने– सरकारी निकायहरूमा शासकीय सुधार गर्न आवश्यक छ । शासकीय सुधार गरेर मात्र नागरिकलाई सहज रूपमा सेवादिन सकिने भएकाले त्यसतर्फ पत्रकारहरूको ध्यान जानु आवश्यक रहेको मन्त्री शर्माको तर्क छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव आभाकर्ण श्रेष्ठले मिडियामैत्री शासकीय पद्धति बनाउनुपर्नेमा जोड दिए । जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरू भौतिक र आर्थिक रूपले सुरक्षित हुनुपर्ने बताउँदै बिमा कम्पनीहरू पत्रकारहरूका लागि सहयोगी बन्न सक्ने बताए ।

पत्रकार महासंघ लुम्बिनी अध्यक्ष बसन्तराज गिरीले पत्रकारहरूलाई सहयोग पुग्ने गरी दुर्घटना बिमा गरिएको बताए । प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गर्दै पत्रकारहरूको भौतिक र आर्थिक सुरक्षाप्रति गम्भीर बन्नसमेत प्रदेश सरकारलाई आग्रह गरे ।

मिडियाको लागि छुट्ट्याइएको बजेट सहमयमा सही ठाउँमा खर्च हुनेगरी छिटोभन्दा छिटो कार्यक्रम ल्याउन आग्रह गरे । राष्ट्रिय बिमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाले पत्रकारहरूको हितका लागि राष्ट्रिय बिमा कम्पनी सहयोगी बन्ने प्रतिबद्धता जनाए । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत फर्सुराम भट्टराईकाे सञ्चालनमा भएको कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारिता पेशाप्रति प्रतिबद्ध भएर प्रदेश सरकारलाई कार्यक्रम ल्याउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *