नेइएकाे नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न

काठमाडाैँ । नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एशोसिएशन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको छ ।
एशोसिएशनको ३३ औँ कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भएको हो । निर्वाचनका लागि पाँच समूहको प्रतिस्पर्धा छ ।
सत्तारूढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले डा. हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ । उक्त उम्मेदवारीप्रति रुष्ट बन्दै कांग्रेसकै दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ ।
यस्तै नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका डा सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट डा हरिराम पराजुली र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन् । देशभर २१ हजार ६८० मतदाता छन् ।
निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने एशोसिएशनले जनाएको छ ।








