पत्रकारलाई ओलीकाे सुझाव- विकास विराेधी पत्रकारिता झाङ्गिएकाे छ, यसलाई निर्मूल तपाईंहरूले नै पार्नुपर्छ

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासविराेधी पत्रकारिता झाङ्गिएकाे बताएका छन् । शुक्रबारबाट पाेखरामा शुरू भएकाे प्रेस चाैतारीकाे महाधिवेशनलाई सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘विकासविराेधी पत्रकारिता झाङ्गिएकाे छ,’ ओलीले भनेका छन्, ‘समग्रमा भन्ने हाे भने पित पत्रकारिता भन्छन् त्यसलाई । यसाे गर्नुहुन्न । तपाईंहरूले पत्रकारिता गर्दा विकासवादी गर्नुपर्छ । नागरिक, देश र संविधानप्रति सजग रहेर गर्नुपर्छ । पित पत्रकारितालाई निर्मूल पार्ने काम तपाईंहरूकै हाे ।’
यस्तै ओलीले स्वतन्त्रताकाे अभाव नरहेकाे बताए । ‘हाम्राे देशमा स्वतन्त्रताकाे अभाव छैन,’ ओलीले भनेका छन्, ‘हामी बढी छाडा भइसक्याैँ, बढी स्वतन्त्रता भइसकेजस्ताे भएकाे छ । हामी सामाजिक सञ्जालसम्म बढी स्वतन्त्रता ओकल्न थाल्याैँ । हाम्राे ध्यान कर्तव्यतिर हाेइन, अधिकारमात्रै गयाैँ ।’








