आजदेखि ‘कर्णाली उत्सव’को तेस्रो संस्करण हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा शुक्रबार बिहान ११ बजेदेखि कर्णाली उत्सव शुरू हुने भएको छ । कर्णालीको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा कर्णाली उत्सव (कुडा कर्णालीका)को तेस्रो संस्करण कार्यक्रम शुरू हुन लागेको हो ।

कार्यक्रमको आयोजक ऋति फाउण्डेशनका अनुसार शुक्रबार बिहान ७ बजेदेखि शुरू भएको कर्णाली उत्सव (कुडा कर्णालीका)को तेस्रो संस्करण कार्यक्रमको तीन दिन अर्थात् फागुन २७, २८ र २९ गते सम्म चल्ने छ । तेस्रो संस्करणको उत्सवमा विशेष गरी कर्णालीको आर्थिक समृद्धिसँग जोडिएका विषयमा रहेर विचार, विमर्श गरिने आयोजक संस्था ऋति फाउण्डेशनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए ।

कर्णाली उत्सव विचारको उत्सव भएकोले तीन दिनको अवधिभर १२ वटा सत्र सञ्चालन हुने आयोजकले जनाएको छ । विशेषगरी कर्णालीको सन्दर्भलाई उठान गर्नेगरी यो वर्ष पनि सत्रहरू सञ्चालन गर्न लागिएको हो ।

उत्सवमा बहस हुने मुख्य विषयवस्तु
उत्सवमा पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रो ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौँमा ‘झरो-उजेलोको खरो’, छैटौँमा ‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्र सञ्चालन हुनेछन् । यस्तै, सातौँमा ‘रैबार र रैला’, आठौँमा ‘शून्य समय’, नवौँमा ‘वाद विवाद र संवाद’, दसौँमा ‘विकासको बाटो’, एघारौँमा ‘उमेरको उमङ्ग’ र बाह्रौँमा ‘कर्णाली चिन्तन (दिगो विकास र कर्णाली)’ शीर्षकमा सत्रहरू सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यी हुन वक्ताहरू
पहिलो सत्र कर्णाली भेरी सुसेल्दो छ’ मा गंगा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा, दोस्रो ‘बजार विकास र हजार निकास’ सत्रमा रेवती गुरुङ, वसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी, तेस्रो ‘आरन, अन्वेषण र आविष्कार’मा महावीर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे वक्ताका रूपमा रहनेछन् ।

यस्तै, चौथो सत्र ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह, पाँचौँ सत्र ‘झरो-उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता छन् ।

‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्रमा डा. सुदीप ठकुरी, डा. राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की, ‘रैबार र रैला’ सत्रमा डा. वैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइराला वक्ताका रूपमा हुनेछन् । ‘शून्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरू देवी ओली, दानसिंह परियार र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी वक्ताका रूपमा रहने आयोजकले जनाएको छ ।

यस्तै, ‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा काँग्रेस महामन्त्री गगन थापा र शहरी विकास मन्त्री रामकुमारी झाँक्री वक्ता हुनेछन् । ‘विकासको बाटो’ सत्रमा डा. विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी वक्ताका रूपमा रहनेछन् । ‘उमेरको उमङ्ग’ सत्रमा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्ट भट्टराई वक्ता छन् । कर्णाली चिन्तन सत्र डा. विश्व पौडेलले सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *