छ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान

काठमाडौँ । युक्रेनमा रुसले धावा बोलेपछि दुई साताको अवधिमा करिब ६ हजार रुसी सैनिकको मृत्यु भएको छ । अमेरिकी अधिकारीहरूले ५ देखि ६ हजार रुसी सैनिकको मृत्यु भएको आकलन गरेका हुन् ।
मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको छ । प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुना हुने गर्छ ।
नाम उल्लेख गर्न नचाहने एक अमेरिकी अधिकारीका अनुसार हताहत हुने रुसी सैनिकको अनुमानित सङ्ख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ । उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही सङ्घर्षसँग तुलना गरे ।
युक्रेनले १२,००० रुसी सैनिक सङ्घर्षका क्रममा मारिएको दाबी गरेको छ । गत साता रुसले ५०० सैनिकले युक्रेनमा ज्यान गुमाएको बताएको थियो । तर युद्धका बेला दुवै पक्षले आफूअनुकूल प्रचार गर्ने हुँदा त्यस्ता दाबीहरू पुष्टि गर्न गाह्रो हुन्छ । बीबीसी








