चैतभित्रै मेलम्चीको पानी काठमाडौँमा

मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सकियो

काठमाडौँ । गत असार १ गतेको बाढी र पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सकिएको छ । आउँदो चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी ल्याउने तयारी भएको हो ।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विस्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको मेलम्ची खानेपानी विकास समितिका डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । उनकाअनुसार अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको हो ।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिस्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए । मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ ।

गत असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर, वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए ।

मुख्य प्रवेश मार्गमै ठूलो पहिरो गएकाले एसियन विकास बैङ्कले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले जानकारी दिए । सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताए । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *