नेपालले भने- ‘अझै शक्तिशाली छु’ भन्ने ओलीको भ्रम चुनावमा चिरिन्छ

काठमाडाैँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोड्ने प्रयास अझै गरिरहेको बताएका छन् । बुधबारबाट शुरू भएकाे केन्द्रीय समितिकाे बैठकमा अध्यक्ष नेपालले यस्ताे ब्रिफिङ्ग गरेका हुन् । ‘केपी ओलीले अझै सत्ता गठबन्धन ताेड्ने प्रयास गरिरहेका छन्,’ अध्यक्ष नेपालले भनेका छन्, ‘तर याे सम्भव छैन ।’

अध्यक्ष नेपालले यसअघि एमसीसीको नाममा आफ्नो पार्टीका १४ सांसदलाई कारबाही गरेर कांग्रेससँग मिल्ने योजनामा लागेका ओली सफल नभएको पनि बताए । उनले एमाले अध्यक्ष ओलीलाई अझै पनि आफू निकै शक्तिशाली रहेको भ्रम परेको उल्लेख गर्दै भनेका छन्— ‘कुनै मान्छेहरूलाई अझै पनि शक्तिशाली हामी हौँ भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ ।’

एमसीसीबारे फेसबूकमा लेख्नेलाई कारबाहीकाे चेतावनी

यस्तै अध्यक्ष नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबूकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् । उनले स्पष्टीकरण साेध्नेसम्मकाे चेतावनी दिएका छन् ।

नेपालले भनेका छन्— ‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबूकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस् । स्पष्टीकरण सोध्नुपर्ने नहोस् । ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।’ यसअघि पोलिटब्यूरो बैठकमा पनि अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालको आलोचना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =