उपसभापति गुरुङ भन्छन्- आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ

काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताएका छन् । नेपाल इञ्जीनियर एशोसिएशन ३३औं कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरले मंगलबार राति आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् । ‘सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा. हरिबहादुर दर्लामी समूह हो, सिङ्गो कांग्रेसको साथ र समर्थन दर्लामी समूहलाई छ’, उनले भनेका छन् ।
उपसभापति गुरुङले पार्टीको झण्डा बोकेर बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्ने स्पष्ट पारेका हुन् । कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले पेशासहितको राजनीतिमा नेपालको इञ्जीनियर क्षेत्र लागेको बताए । रासस








