प्राध्यापक संघसंगठनले मागे त्रिविका पदाधिकारी राजीनामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका तीनवटा प्राध्यापक संघ संगठनले त्रिविका पदाधिकारीहरूको राजीनामा माग गरेका छन् । एकीकृत प्रगतिशील प्राध्यापक नेपाल संगठनका अध्यक्ष प्रा. डा. गोविन्द सुवेदी, नेपाल राष्ट्रिय प्राध्यापक संगठन सहसंयोजक प्रा.डा.रमेश भट्टराई र प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल अध्यक्ष सह प्रा. जगत तिमिल्सिनाले संयुक्त विज्ञप्ति निकालेर वर्तमान पदाधिकारीहरूले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक र प्राज्ञिक थलो बनाउन नसकेको बरू झनझन समस्यामा पार्दै लगेको भन्दै संघले ‘मार्ग प्रशस्त गर्न’ आग्रह गरेका हुन् ।

लामो इतिहास र प्राज्ञिक परम्परा भएको देशकै महत्त्वपूर्ण उच्च शैक्षिक संस्थाका रूपमा त्रिवि रहेकाे भन्दै पदाधिकारीहरूले राजनीतिक पूर्वाग्रहका आधारमा कार्य गरेकाे आराेप प्राध्यापकहरूले लगाएका हुन् ।

एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेकाे छ, ‘विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाका आफ्ना प्राज्ञिक दायित्व हुन्छन् र त्यसको व्यवस्थापनको जिम्मेवारी मूलतः पदाधिकारीमा निहित रहेको हुन्छ । विश्वविद्यालयमा पदाधिकारी शैक्षिक आर्थिक नीति निर्माता, अनुसन्धानको योजनाकर्ता, अन्तर्राष्ट्रियकरणका लागि आवश्यक कार्य गर्ने र समग्र शैक्षिक उन्नयनका लागि काम गर्ने शैक्षिक नेतृत्वकारी भूमिकामा रहेका हुन्छन् । सामान्यतः सबै सरोकारवालाको सहभागिता, अन्तर्क्रिरया र छलफलबाट यसका योजना बनाउने र समस्या समाधान गर्ने प्रचलित मान्यता र परम्पराका आधारमा विश्वविद्यालयको विकास हुने हुँदा यसलाई जटिल शैक्षिक संस्थाका रूपमा रहेको छ ।’

त्यस्तै, विज्ञप्तिमा अगाडि भनिएकाे छ, ‘यस्तो स्थापित परम्परा रहेको विद्यामान अवस्थामा त्रिभुवन विश्वविद्यालयका वर्तमान पदाधिकारी नियुक्त भएपछि राजनीतिक पूर्वाग्रहका आधारमा कार्य गर्ने , विश्वविद्यालयलाई कुनै एक राजनीतिक मान्यताका आधारमा चलेर सरोकारवालाका मत र विचारलाई उपेक्षा गर्ने, आफूखुसी नियम बनाएर नियुक्ति लगायतका प्रक्रियमा समेत प्राज्ञिक मूल्यको अवहेलना गर्ने, आफैँले नियुक्त गरेका प्राध्यापकको अवमूल्यन गरी उनीहरूलाई अयोग्य भन्नसम्म पछि नपर्ने जस्ता अति अप्राज्ञिक, अमर्यादित र उपकुलपतिको स्तरबाट भन्नै नहुने अभिव्यक्ति दिने जस्ता कार्यले हाम्रो ध्यानाकर्षण भएको छ ।’

प्राध्यापक संगठनहरूले पदाधिकारीहरूलाई आफू निश्चित राजनीतिक पार्टी र गुटस्वार्थमा लिप्त रही अरूलाई लाञ्छना लगाउने र आफू पानीमाथिको ओभानो हुने प्रवृत्ति बौद्धिक क्षेत्रका लागि अशोभनीय भएकाे समेत उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएकाे छ, ‘त्यस्ता कार्य गरेर त्रिभुवन विश्वविद्यालयको वातावरण नधमिल्याउन र स्वच्छ शैक्षिक र प्राज्ञिक वातावरण निर्माण गर्नका लागि हामी वर्तमान पदाधिकारीलाई हार्दिक आग्रह गर्दछौँ । वर्तमान पदाधिकारीको नियुक्तिपछि प्राज्ञिक उन्नयनका कुनै नयाँ काम हुन नसक्नु, शैक्षिक क्यालेन्डर लागु गर्ने काम गर्न नसक्नु, पाठ्यक्रमलाई वर्तमानको आवश्यकताका आधारमा समयसापेक्ष रूपमा परिमार्जन र परिवर्तन गर्न नसक्नु, शिक्षकको पेसागत विकासका लागि तालिम र अभिमुखीकरणका काम ठप्प जस्तै हुनु, प्राध्यापक र कर्मचारीसँग गरिएका सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै त्यसमा उदासीन हुनु, त्रिवि सभाले गरेका निर्णयको कार्यान्वयन नगर्नु र तालाबन्दीका कारण ठप्प भएको विश्वविद्यालयलाई सुचारु गर्ने दिशामा कुनै पहल नगरी पुराना कामलाई नै हाम्रा काम भन्दै वक्त्वयबाजी गर्नु जस्ता कुरा अहिलेका त्रिविका ज्वलन्त विषय हुन् ।’

त्यस्तै, संगठनहरूले विश्वविद्यालय इतिहासकै अति जटिल मोडमा रहेकाे समेत उल्लेख गरेका छन् । राजनीतिकरणलाई अझ तीव्र पारी सीमित राजनीतिक विचारधारा र अमूक पार्टी बाहेकको काम नहुने संस्थाका रूपमा त्रिवि पुगेको आराेप समेत प्राध्यापकहरूकाे छ ।

जेष्ठता र प्राज्ञिक विशिष्टताका आधारमा नियुक्ति र चयन हुनुपर्ने कुरालाई लत्याएकाे भन्दै संगठनहरूले आफूखुसी नियम बनाई आफ्ना भनिएका मानिसलाई मात्र सेवा र सुविधा तथा नियुक्ति दिने तथा पारदर्शी छनोट र मनोनयनलाई लत्याउने, विद्यार्थी , शिक्षक र कर्मचारी समेतका जायज मागलाई समेत उपेक्षा गरी आफू समर्थित विद्यार्थी र प्राध्यापकलाई प्रतिकारमा सामेल गराउने जस्ता कार्य गरी त्रिविलाई द्वन्द्वकाे थलो बनाइएकाे समेत उनीहरूकाे आराेप छ ।

विज्ञप्तिः

प्रतिक्रिया

One thought on “प्राध्यापक संघसंगठनले मागे त्रिविका पदाधिकारी राजीनामा

  1. २०५८ साल भदौ २८ गते आम्शिक्मा नियुक्ती पाई २०६४ सालदेखी निरन्तर कारार मा काम गर्दै आयेको त्रिभुवन बिश्वबिध्यालय को शिक्षक पेन्सन हुनेबेलासम्म अस्थाइ नै छ । गणतन्त्र मा के उ मान्छे होइन? उ अब अन्यत्र कतै जान सक्तैन । बूढो भयो । यसरी श्रम शोसण गरेर बूढो भयेपछी उखुको खोस्टाजस्तो फाल्ने ? त्रिभुवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *