प्रचण्डकाे ब्रिफिङ्ग- संसद् विघटन गरेर निर्वाचनमा जान प्रधान मन्त्री तयार हुनुभएन

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटन गरेर चुनावमा जान प्रधान मन्त्री शेरबहादुर देउवा तयार नभएकाे बताएका छन् । साेमबार बत्तीसपुतलीस्थति अनुपम फूड्ल्यान्डमा बसेकाे केन्द्रीय समिति बैठकमा प्रचण्डले यस्ताे ब्रिफिङ्ग गरेका हुन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताएअनुसार बैठकमा प्रचण्डले भनेका छन्— ‘प्रधान मन्त्रीजी संसद् विघटन गरेर जाने कुरामा तयार हुनुभएकाे छैन ।’ चारदलीय गठबन्धनमा अहिले ‘अर्ली ईलेक्सन’ काे चर्चा छ । यसअघि सत्ता साझेदार दल एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अर्ली ईलेक्सनकाे चर्चा हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका थिए ।
यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि संसद् विघटनबारे छलफल भइरहेकाे बताएका थिए । नेताहरूले स्थानीय तहकाे निर्वाचन भने पूर्वनिर्धारित समयमै गर्ने र संघीय र प्रदेशकाे निर्वाचनबारे भने ‘प्याकेज’मै केही घाेषणा हुने संकेत गरिरहेका छन् ।
यसैबेला प्रचण्डले यस्ताे खुलासा गरेका हुन् । प्रचण्डले पनि स्थानीय तहको निर्वाचन भने वैशाख ३० मै हुने बताएका छन् । ‘वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय निर्वाचन सर्ने सम्भावना छैन,’ उनले भनेका छन्, ‘चल्न त प्रतिनिधि सभा विघटनको चर्चा चलेको छ तर, परिस्थिति त्यता गइसकेको छैन ।’








