‘महँगीको मार, सरकार बनौँ जिम्मेवार’

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई व्यवसायीको दबाब

विराटनगर । विराटनगरका व्यापारीले तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । विराटनगरमा पत्रकारसम्मेलन गर्दै उनीहरुले विगत केही दिनदेखि अत्याधिक मूल्यवृद्धि हुनुलाई सरकारको अक्षमताको रुपमा अर्थ्याएका छन् । मोरङ व्यापार संघले ‘महँगीको मार, सरकार बनौँ जिम्मेवार’ भन्ने नाराका साथ गरेको उक्त पत्रकार सम्मेलन बोल्दै उद्योगी व्यवसायीले तत्काल मूल्यवृद्धि नियन्त्रण नगरे पैसा झोलामा हुने तर सामान नै नपाउने भयावह अवस्था आउन सक्ने चेतावनी दिए ।

दैनिक उपभोग्य वस्तुलगायत निर्माण सामाग्रीको मूल्य आकाशिँदा त्यसको दोष व्यवसायीलाई दिइएकोमा उनीहरुले असन्तुष्टि जनाएका छन् । उद्योगी महेश जाजुले बजारमा मूल्य वृद्धि गराउने काम उद्योगी व्यवसायीले नै गरेको हो भन्ने भ्रम छर्न खोजिएको र उद्योगीलाई अभियुक्तको जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टी जनाए ।

अहिले महँगीको मार विश्वको अर्थबजारमा नै परेको स्पष्ट पार्दै उनले उनले यसको दोष भने नेपालका उद्योगी व्यवसायीलाई लगाउनु अन्याय भएको बताए ।

‘युक्रेन र रुसबीचको युद्धभन्दा पहिलादेखि नै मूल्य आकाशिन थालेको थियो,’ उद्योगी जाजुले भने, ‘युक्रेन र रुसबीचको युद्धले त्यसलाई थप बढायो, त्यसको असर बिश्व बजारमा परेको छ ।’

उद्योगी प्रकाश मुण्दडाले मूल्यवृद्धि नियन्त्रणमा सबै जिम्मेवार बन्न आग्रह गरे । व्यापारीबाट कालोबजारी भएको वा मूल्य वृद्धि भएको भए कानुनी दायरामा ल्याउन पनि उले सरकारलाई आग्रह गरे ।

‘व्यवसायीको तर्फबाट कालोबजारी गर्नेलाई प्रोत्साहन गरिनुहुन्न,’ उनले भने, ‘व्यसायीले मात्र मूल्य बढाए भनेर गलत प्रचार गर्नुहुन्छ, यसमा राज्य जिम्मेवार बन्नुपर्छ ।’

सरकारले बफर स्टकको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन् । पुराना व्यवसायी ताराचन्द खेतानले पहिला निर्यात गर्ने देश अहिले आयातको भर पर्नु पर्दाको असर मूल्य वृद्धिमा परेको बताउँछन् । सरकारको जिम्मेवारी भित्र रहेको तेल, ग्यास र मलमा मूल्य समायोजन गरेर जानु पर्ने बताए ।

‘अहिले ग्यास, डिजेल, पेट्रोल लगायतका पेट्रोलियम इन्धनमा भएको मूल्यवद्धिले सबै क्षेत्रमा असर पारेको छ,’ उनले भने, ‘सरकारको स्वामित्वमा रहेको यस्ता बस्तुको मूल्य समायोजन गरेर नियन्त्रणमा राखिनु पर्छ ।’

खेतानलले सीमित समयमा सीमित वस्तुमा व्यापारीले मूल्य बढेको छ भने त्यस्तो अवस्थामा बढ्ने क्रमलाई रोक्न नसक्नु सरकारको कमजोरीको रुपमा रहेको बताए ।

उद्योगी पवन कुमार सारडाले नुनदेखि सुनसम्म एक हप्तामा मूल्य वृद्धि भएको सुनाए ।

‘मृल्यवृद्धि हुनुमा उद्योगी व्यवसायीको भूमिका छैन,’ उनले भने, यस्तै अवस्था रहीरहने हो भने नागरिक किनेर खान नसक्ने अवस्थामा पुग्नेछन् ।’

मासिक ४० हजार कमाएर जीवन चलाउने व्यक्तिलाई आजको अवस्थामा ७० हजार कमाउँदा पनि नपुग्ने अबस्था आएको उनले सुनाए । उनले अहिले गहुँ र तोरी आयात हुने युक्रेन द्वन्द्वमा फसेकोले त्यसको असर सबैभन्दा बढी नेपालमा पर्ने सारडाले बताए ।

पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले नेपालमा भएको हालको मूल्यवृद्धिको कारक उद्योगी व्यवसायी नभएको बताए । उनले बजेट भाषण मार्फत मात्र भन्सार महसुल निर्धारणm गर्ने परिपाटीको अन्त्यगरि महँगीलाई ध्यानमा राखेर कुनैपनि बखत भन्सार महशुल घटबढ गर्न सकिने व्यवस्था गर्नु पर्ने बताए ।

सरकारले खाद्य संस्थान, साल्ट ट्रेडिङ जस्ता सरकारी निकाय मार्फत खाद्य बस्तुको ब्यवस्थित बफर स्टक राख्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

‘स्वदेशी वस्तुको आत्मनिर्भरता बढाउने नीति सरकारले ल्याउनु पर्छ, रिजालले भने, स्वदेशी उद्योग र कृषकको संरक्षणका लागि ऋणमा अधिकतम ५/८ प्रतिशत व्याजदर कायम हुनु पर्छ ।’

उनले उद्योगहरुको लागत कम गर्न श्रम नियममा केही वर्षका लागि हायर एण्ड फायर जस्ता नीति ल्याई कार्यकुशलता र उत्पादकत्व बढाउने रणनीति बनाईनु पर्नेमा जोड दिए ।

बिद्युतमा छुट, डिजेलमा करको दस्तुर घटाउनु पर्ने लगायतका बिषयलाई अघि बढाउन सकिने हो भने मूल्यवृद्धि घटेर जाने व्यवसायीको भनाइ छ । व्यापारसंघले विगत ६० दिनमा कुन सामाग्रीको मूल्य कति बढेको समेत सार्वजनिक गरेको छ ।

पेट्राेलियम, इन्धन, धातु र खाने तेलकाे बजार मूल्यकाे तुलना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *