संसद्‌काे आजकाे बैठकले महाभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने

काठमाडाैँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका समिति बनाउन दलहरू सहमत भएका छन् । आइतबार बिहान बसेको कार्य व्यवस्था समिति बैठकले ११ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेको हाे । प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६२ मा समिति बनाउने प्रावधान छ । जसअनुसार बढीमा ११ सदस्यीय समिति बनाउने सकिने व्यवस्था छ । साेहीअनुसार समिति बनाइने स्राेतले बताएकाे छ ।

समितिले काम शुरू गरेको बढीमा ३ महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ । समितिले महाभियोग अघि बढाउने/नबढाउने सिफारिससहितको प्रतिवेदन बुझाउनेछ । यसकै आधारमा कारबाही प्रारम्भ हुने कि नहुने निर्धारण हुन्छ ।

छानबिन समितिमा प्रमुख प्रतिपक्ष एमालेले पनि सहभागिता जनाउने भएकाे छ । कार्यव्यवस्था समितिको बैठकमा एमाले सहभागी नभएपनि उसले छानबिन समितिमा बस्न सहमति जनाएको छ । टेलिफोनमार्फत् एमालेसँग सहमति लिइएको थियाे । सभामुख अग्निप्रसाद सापकोटाले सबै दलसँग समितिमा रहने सांसदहरूको नाम मागिरहेका छन् ।

आजैकाे संसद्‌ बैठकबाट समिति गठन हुने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =