शेन वार्न : मैदानमा महान्, बाहिर विवादित

काठमाडौँ । शुक्रबार विश्वले एक महान् क्रिकेटरलाई गुमायो । भेट्रान लेग स्पेनर शेन वार्नको बलिङ्गमा जस्तो अप्रत्यासित जादु हुन्थ्यो, उनको मृत्यु पनि त्यस्तै अप्रत्यासित रह्यो । १२ घन्टाअघि मात्र अस्ट्रेलियाका लेजेन्ड रोड मार्सको निधनमा दु:ख व्यक्त गर्दै ट्विट गरेका वार्नले १२ घन्टापछि नै यो संसार छोड्लान् भन्ने सायदै कसैले सोचेको हुँदो हो । यो खबर सुनेका उनका करौडौं समर्थक आँखामा आसुँ टिलपिल पारेर उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।

अस्ट्रेलियाका यी महान् लेग स्पेनरबारेमा अनेकाैं किस्साहरू क्रिकेट जगत्मा चलेका थिए । वार्नका बारेमा भनिन्थ्यो कि—उनी ‘बरफको पिचमा पनि बल टर्न गराउन सक्छन् ।’ अर्थात् जस्तोसुकै परिस्थितीमा पनि उनी आफ्नो बलिङ्गको जादु देखाउन सक्षम छन् । उनको ‘बलिङ्ग अफ दी सेन्चुरी’काे एउटा बलको जादुमयी कथाको अन्त्य कहिले पनि हुने छैन । उनले इंग्ल्यान्डका माइक ग्याटिङलाई लेग ब्रेकमा बोल्ड गरेका थिए । जुन बल ९० डिग्री टर्न भएको थियो ।
कीर्तिमानका पर्याय वार्न
५२ वर्षकै उमेरमा हृदयघातका कारण निधन भएका वार्न क्रिकेट मैदानमा आफ्नो सानदार प्रदर्शनका कारण सधैँ सम्झनामा रहनेछन् ।
उनी टेस्ट क्रिकेटमा ६ सय र ७ सय विकेटको कोसेढुङ्गा पूरा गर्ने पहिलो खेलाडी हुन् । साथै उनी आईपीएलको उपाधि जित्ने पहिलो कप्तानसमेत हुन् ।
सतकबिना सर्वाधिक रन बनाउने खेलाडी
वार्न जति उम्दा लेग स्पेनर थिए, पछिल्लो क्रममा ब्याटिङ्गका लागि पनि उत्तिकै महत्त्वपूर्ण थिए । उनले टेस्ट क्रिकेटमा ३,१५४ रन बनाए । शतक बिनाउच्च स्कोर बनाउने उनी एक्ला खेलाडी हुन् । १२ अर्धशतक प्रहार गरेका उनको सर्वाधिक उच्च स्कोर ९९ रन रहेको थियो ।
जीवनमा एउटा पनि शतक प्रहार गर्न नसकेको र मात्र १ रनबाट चुकेको अफसोस भने उनले जीवनका पछिल्ला वर्षहरूमा पनि गरिरहेका हुन्थे ।
उस्तै उत्कृष्ट कमेन्टेटर, धेरै समर्थक
मार्सले खेल जीवनपछि कमेन्टेटरका रूपमा आफ्नो पहिचान स्थापित गरेका थिए । उनले कमेन्टेटरको दुनियाँमा पनि आफूलाई अब्बल सावित गरे। सन २०१७ मा च्यानल ९ का लागि एसजीजी मैदानमा उनले गरेको कमेन्ट्री धेरैले सम्झिने मध्येको एक हो ।
उनका समर्थकहरू पनि अचम्मका थिए । बालबालिकादेखी वृद्धवृद्धसम्म उनको अटोग्राफ लिन घन्टौं प्रतिक्षा गरिरहेका हुन्थे । उनको फ्यान फलोइङ विश्व क्रिकेटमानै दुर्लभ मध्येको एक मानिने गरेको थियो ।
जब ड्रग्सका कारण विश्वकपबाट बाहिरिए
वार्न खेल क्षेत्रमा चर्चित र लोकप्रिय जति रहे, उनको मैदान बाहिरको जीवन भने विवादमा मुछियो । उनी जत्ति सनसनीपूर्ण रूपमा बलिङ गर्थे उनका विवादका कथाहरू पनि त्यस्तै सनसनीपूर्ण नै छन् । विश्वकप सन् २००३ का बेला अस्ट्रेलियाको टीम मैदानमा उत्रिनु केही दिनअघि मात्र अस्ट्रेलियाका केही खेलाडीले लागूऔषध ड्रग्स लिन्छन् भन्ने सूचनाका आधारमा सबै खेलाडीको परीक्षण गरियो । रिपोर्ट आउँदा खेलाडीमाथि गरिएको आशंका सही सावित हुन पुग्यो ।
वार्नको युरिन टेस्टमा प्रतिबन्धित औषधि मोडुरेटिकको अंश पाइयो । जुन औषधि रक्तचापका विरामीलाई दिने गरिन्थ्यो । उक्त औषधि प्रयोगको पुष्टिपछि उनलाई एक वर्ष प्रतिबन्ध घोषणा गरियो ।
चेन स्मोकर र नसा

वार्नको ५२ वर्षमा नै ह्रदयघातबाट निधन हुनुमा धेरैले उनले त्याग्न नसकेको चेन स्मोकिङ र ड्रिंग्सलाई पनि कारक मानेका छन् । उनले धेरैपटक यी दुई कुरा त्याग्ने प्रयास गरेपनि असफल भएको निकटस्थहरुलाई बताउने गरेका थिए । जसका कारण उनले पछिल्लो समय भने नसा र धुमपानलाई आफ्नो जीवनको महत्त्वपूर्ण अंगजस्तै बनाए । उनी एक चेन स्मोकरका रूपमा रहे । उनी कैयाैं पटक मैदानमा पनि चुरोट र रक्सी पिउँदै गरेको अवस्थामा भेटिन्थे । साथै उनी धेरै मदिराका कारण उनी धेरै पटक गम्भीर अवस्थामा समेत पुगेका थिए । ती सबैलाई जित्दै आएका उनी यसपटक भने हार्न पुगे ।
महिलासँगको विवादका कारण उपकप्तानबाट बर्खास्त
क्रिकेटबाट सन्न्यास लिएपछि उनी धेरै समय इंगल्यान्डमा बसे । उनले दुई विवाह गरेपनि उनको सम्बन्ध लामो समय टिक्न सकेन । उनी खेलाडी भएकै बेला एक समय एक हाइप्रोफाइल पार्टीपछि एक नर्सलाई अश्लिल म्यासेज गरेको समाचार द सन पत्रिकाले प्रकाशित गरेको थियो । जतिबेला उनी टीमका उपकप्तान थिए ।

उक्त घटना सार्वजनिक भएपछि उनलाई उपकप्तानबाट हटाइएको थियो । यही घटनाका कारण उनी अस्ट्रेलियाली टीमको कप्तान बन्ने सपनाबाट संधैका लागि टाढा भए ।
न्यूड फोटो सूटपछि डिभोर्स
वार्न सन्न्यासपछि पनि कुनै न कुनै रूपमा अन्तर्राष्ट्रिय मिडियाको चर्चामा रहे । उनले एक बेलायती ट्याबलोइड पत्रिकाका लागि एकजना टीभी होस्टसँग नाङ्गो फोटो सुट गरेका थिए । यो फोटो सार्वजानिक भएसँगै उनकी पहिलो श्रीमतीले सम्बन्ध विच्छेद गरेकी थिइन् । सन् २०१७ मा ब्रिटेनकी एक प्रसिद्ध मोडललाई डिस्कोमा कुटपिट गरेको घटना सार्वजनिक भएपछि उनको आलोचना भएको थियो ।
त्यसलगतै उनले एक पोर्न स्टारलाई समेत कुटपिट गरेको घटना सार्वजनिक भएको थियो ।
सहकर्मी तथा विपक्षीसँग भिडिहाल्ने
वार्न जत्ति उम्दा खेलाडी थिए, त्यति नै झगडालु स्वभावका पनि । उनी आफ्नै कप्तानलाई समेत अनेक खालका गाली गर्थे भने विपक्षी खेलाडीलाई समेत थर्काउने धम्क्याउने गर्थे । सन् २०१६ मा दिएको एक अन्तर्वातामा उनले धेरै कप्तान देखेपनि स्टीव वाँ जस्तो कप्तान कहिले नदेखेको बताए ।
उनले स्टीव केवल आफ्नो मात्रै चिन्ता लिने खराब कप्तान भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । एक पटक वेस्टइन्डिजका लिजेन्ड मार्लोन स्यामुएल्ससँग उनको मैदानमा नै झगडा भएको थियो ।
बुकीसँगको सम्बन्ध
सन् १९९४ मा वार्नले एक अन्तर्वार्ता दिएका थिए । जहाँ उनले अन्जानमा एक बुकीको पिचसँग जोडिएको जानकारीहरू दिएको बताएका छन् । यो घटनामा उनका टिम मेट मार्क वाँ पनि सामेल रहेका थिए । मार्कका दाजु स्टीव वाँ कप्तान थिए । उक्त घटना श्रीलंकाविरुद्ध सिंगर कपका बेला भएको थियो ।
क्रिकेट अस्ट्रेलियाले यो विषयमा छानबिन गर्दा वाँ र वार्न दोषी पाइए । तर उनीहरूलाई सजाय भने भएन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यकाे सहयाेगमा-
वार्नको सम्झनामा शतिस आचार्यले बनाएको कार्टुन:-









