राष्ट्रिय सभा सदस्यहरूद्वारा शपथ ग्रहण

काठमाडाैँ । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको कक्षमा शनिवार आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट १/१ सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनाेनीत हुन बाँकी छ ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए भने उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।

यसैगरी एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह निर्वाचित भएका थिए । एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ । स्थायी सदन भएकाले राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि फागुन २० गतेदेखि समाप्त भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सिंहदरबार नजिकको एक होटलबाट ती सांसदहरूलाई बिदाई गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =