माओवादी केन्द्रीय समिति बैठक : एमसीसीबारे प्रचण्डले ब्रिफिङ्ग गर्ने, अरु एजेन्डा के के ?

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक शुरू भएकाे छ । बैठक २ घन्टा ढिलाेगरी १ बजे राष्ट्रिय सभागृह, काठमाडाैँमा शुरू भएकाे हाे । ८औं राष्ट्रिय महाधिवेशन सकिएकाे २ महिनापछि बसेकाे बैठकले केन्द्रीय पदाधिकारी टुङ्ग्याउने नेताहरूले बताएका छन् । केन्द्रीय सदस्य मातृकाप्रसाद यादवले भने, ‘आजकाे बैठकले त मुख्यगरी त केन्द्रीय पदाधिकारीसहित विभिन्न समितिहरू टुङ्ग्याउने नै भनिएकाे हाे, अब हेराैँ के के हुन्छ । अन्य विषयहरूमा पनि छलफल हुन्छन् ।’

यसअघि पुस ११ देखि १८ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न ८औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनुमाेदन गर्दै सकिएकाे थियाे । त्यसयता केन्द्रीय समितिकाे बैठक बसेपनि पदाधिकारी टुङ्ग्याउन सकेकाे छैन । यद्यपि आज शुरू भएकाे बैठकले भने केन्द्रीय पदाधिकारी टुङ्ग्याउने नेताहरूले बताएका छन् । यस विषयमा भने दाेस्राे दिनदेखि छलफल प्रारम्भ हुने र सकभर त्यही दिन टुङ्ग्याउने नेताहरूकाे भनाइ छ ।

आज पहिलाे दिन भने समसामयिक राजनीतिक विषयमा छलफल हुने एजेन्डा तय भएकाे छ । बैठकमा श्रद्धाञ्जलीपछि पार्टी अध्यक्ष प्रचण्डले एमसीसीबारे रिपाेर्टिङ्ग गर्नेछन् । ‘रिपाेर्टिङ्गमा उहाँले खासगरी अन्य कमरेडहरूले उठाउनुभएकाे सवाल र जिज्ञासाहरूबारे ब्रिफिङ्ग गर्नुहुनेछ,’ एक केन्द्रीय सदस्यले भने, ‘यसपछि अन्य एजेन्डाहरू क्रमश: आउँछन् र छलफल हुन्छ ।’

यसपछि सङ्गठनात्मक विषय दाेस्राे एजेन्डाका रूपमा राखिएकाे छ । ती सदस्यकाअनुसार केन्द्रीय समितिमा सदस्य थप्ने, पोलिटब्यूराे, स्थायी र पदाधिकारी गठबन्धनबारे पनि छलफलका लागि एजेन्डा तय गरिएकाे छ । यस्तैगरी कार्यविभाजन, स्थानीय तह निर्वाचनको तयारी र विविध विषयहरूसमेत बैठकका एजेन्डाहरू छन् ।

आजकाे बैठकमा नेताहरूले फागुन १५ गते नेपालकाे संसद्‌बाट पारित भएकाे एमसीसीबारे दह्राेरूपमा कुरा उठाउने भएका छन् । संसद्‌बाट पारित भइसकेकाे एमसीसीलाई लिएर माओवादीमा नेताहरू झगडिएका छन् । खासगरी नारायणकाजी श्रेष्ठ पक्षले भने तीव्र असन्तुष्ट जनाइरहेकाे छ । याे पक्षले सशक्त रूपमा कुरा उठाउने केन्द्रीय सदस्य अन्जना विशङ्खेले बताइन् । ‘याे विषयमा त हामीले डटेर कुरा उठाउँछाैँ,’ विशङ्खेले भनिन्— ‘यसलाई स्कीप गरेर जाने पक्षमै छैनाैँ हामी ।’

पुसमा सम्पन्न महाधिवेशनले पार्टी कुनै पनि हालतमा एमसीसीकाे विपक्षमा उभिने निष्कर्ष निकालेकाे थियाे । तर, फागुन १४ मा आएर माओवादी केन्द्रले एमसीसी संसद्‌बाट पारित हुनुपर्ने बताएका थियाे । यसपछि प्रचण्ड र नारायणकाजीबीचकाे राजनीतिक दूरीसमेत बढेकाे छ । यद्यपि प्रचण्डले यसबीचमा २ पटक नारायणकाजीलाई भेटिसकेका छन् ।

याे आन्तरिक विवादकाे समेत याे केन्द्रीय समिति बैठकले समाधान निकाल्ने केन्द्रीय सदस्य देवप्रसाद गुरुङले बताए । उनले भनेका छन्— ‘याे केन्द्रीय समितिकाे बैठकले खालि पदाधिकारी तथा समिति मात्रै बनाउँदैन । याे भनेकाे निर्णायक बैठक हाे । त्यसैले यसले वैचारिक बहस गर्छ, गर्नुपर्छ भनेर नेता/कार्यकर्ताहरूलाई भन्छ र आन्तरिक विवादलाई समेत समाधानकाे बाटाेमा लान्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *