पार्टीको विवादलाई अतिरञ्जित ढङ्गले नबुझौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । एमसीसी सम्झौता अनुमोदनले माओवादी केन्द्रभित्र मतभेद बढेको छ । एमसीसी सम्झौता अनुमोदनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाटो लागे हुन्छ भनेपछि मतभेद झन् बढेको हो ।
यहिबीच नेता श्रेष्ठलाई भेटेर प्रचण्डले मतभेद साम्य पार्ने कोसिस गरेका थिए तर, श्रेष्ठ रानी भएका छैनन् । आजदेखि शुरु हुने केन्द्रीय समिति बैठकमा सम्झौता अनुमोदनकै विषयमा बहस चर्किने सम्भावना देखिएको छ ।
तर, नेता श्रेष्ठले पार्टीभित्रको विवादलाई ‘अतिरञ्जित ढङ्ग’ले नबुझ्न आग्रह गरेका छन् । ‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्विराेधलाई लिएर विभिन्न सञ्चार माध्यम मार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष क प्रचण्ड र मेरो बिचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरूसँग पनि छलफल भइरहेको छ ।’








