तीव्र विवादबीच माओवादीको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ । बैठक बिहानपछि ११ बजे राष्ट्रिय सभागृहमा शुरु हुने भएको हो ।

आठौँ महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो । त्यसपछि बैठक पटक पटक स्थगित भएको थियो ।

आजदेखि शुरु हुने केन्द्रीय समितिमा एमसीसीलगायत समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बताए । माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँटको काम पनि भएको छैन । यस पटकको बैठकबाट यी सबै विषय टुङ्गिने जनाइएको छ ।

याे पनि : नारायणकाजीलाई प्रचण्डले दाेहाेर्‍याए- ‘पार्टी नछाेड्नुस्’

यस्तै संशोधनबिना एमसीसी पास गर्न नहुने आठौँ महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसद्मा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय विपरीत अध्यक्ष प्रचण्ड गएपछि माओवादीमा अहिले तीव्र विवाद छ ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पूर्व स्थायी समिति बैठकको निर्णयमा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरूले फरक मत राखेका थिए । आजको बैठकमा असन्तुष्ट पक्षले एमसीसीबारे कुरा उठाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =