के हो फिटल मेडिसिन सेवा, यो किन जरुरी छ ? (भिडिओसहित)

काठमाडौँ । नेपालमा फिटल मेडिसिन सेवा पनि विस्तार हुँदै गएको छ । २ वर्षदेखि पाटन अस्पतालमा उपलब्ध यो सेवा अहिले केएमसी अस्पतालले पनि शुरू गरेको छ । भारतको एपोलो अस्पतालमा फिटल मेडिसिनमा २ वर्ष फेलोसिप गरेर फर्किएकी फिटल मेडिसिन विशेषज्ञ डा. रोजिना मानन्धरलाई अनुबन्ध गर्दै यो सेवा शुरू गरेको केएमसीले जनाएको छ । डा. मानन्धरका अनुसार :-

फिटल मेडिसिन भनेको के हो ?
फिटल मेडिसिन बच्चा जन्मिनु अघि आमाको पाठेघरमा रहँदा नै उसमा केही समस्या छ वा छैन भनेर पत्ता लगाउने पद्धति हो । यो पद्धति सन् १९७५ मा बेलायतबाट शुरू भएको हो । फिटल मेडिसिन भनेको औषधिकै एउटा ब्रान्च हो जसमा गर्भमा रहेको शिशु विकलाङ्ग भए नभएको, वंशाणुगत रोग भए नभएको बारे पहिले नै स्क्रिनिङ र डायग्नोसिस गरिन्छ । यस पद्धतिबाट गर्भलाई निरन्तरता दिने वा नदिने? अर्को पटक बच्चाको योजना गर्दा एउटै समस्या देखा पर्छ की पर्दैन ? बच्चा जन्मिइसकेपछि बाँच्ने अवस्थामा हुन्छ की हुँदैन जस्ता कुरा पहिले नै पत्ता लगाउन सकिन्छ ।

फिटल मेडिसिन किन महत्वपूर्ण छ ?
फिटल मेडिसिनको सबैभन्दा ठूलो महत्व भनेको यदि गर्भाअवस्थामा नै शिशुलाई कुनै रोग लागेको छ र स्वास्थ्य सम्बन्धि समस्या छ भने पत्ता लगाएर समयमा नै उपचार गराउनु हो । यसमा शिशुमा कस्तो समस्या छ भन्ने कुराले उपचार गर्न संभव छ वा छैन निर्धारण गर्दछ । जस्तै गर्भमा रहेका बच्चामा फोक्सो सम्बन्धि समस्या छ भने फिटल मेडिसिन पद्धतिबाट गर्भमा नै उपचार गरेर निको बनाउन सकिन्छ । अरू न्युरो सम्बन्धि समस्या जस्तैः स्पाईनको समस्या त्यसलाई पनि गर्भमा नै सर्जरी गरेर बच्चा २६ हप्ताको हुँदा सम्म निको बनाउन सकिन्छ । यो भनेको बच्चा पेटमा नै रहँदा उसको शल्यक्रिया गर्ने विधि हो । तर त्यस्तो सर्जरीको व्यवस्था भने नेपालमा छैन । यो शल्यक्रिया फिटल मेडिसिन विशेषज्ञले नै गर्नुपर्छ ।

वशांणुगत रोगहरूबारे अध्ययन र उपचार गर्नको लागि यो उपचार पद्धतिको विशवभरि नै विकास भएको हो । यसमा डाउनसिन्ड्रोम, इडवार्ड सिन्ड्रोम, पटाउसिन्ड्रोम लगायतका समस्याहरू गर्भको बच्चामा हुन्छ वा हुँदैन भन्ने स्क्रिनिङ गरिन्छ । यो गर्भावस्थाको १२ हप्तामा नै गरिन्छ । यो रगतको जाँच र अल्ट्रासाउण्डबाट गरिन्छ । यो पद्धति विश्वभरि यूनिभर्सल स्क्रिनिङको रूपमा विकास भइसकेको भए पनि नेपालमा भने भर्खरै शुरू भएको छ । यदी १२ हप्तामा नै गम्भीर प्रकारको बिमारी देखा परेमा पहिलो बच्चा जन्माउनेहरू त्यो बच्चालाई जन्म नदिँदा राम्रो हुने भएकाले यो फिटल मेडिसिन महत्वपूर्ण छ । डाउनसिन्ड्रोम भएको शिशु सुस्त मनस्थितिको हुने, उनीहरूलाई मुटुमा रोगहरू देखिने, मृगौलामा समस्या देखिने भएकोले उनीहरूलाई बाँचुन्जेलसम्मको लागि स्पेशल एसिस्टेन्टको आवश्यक पर्छ ।

कतिपय विवाहित जोडीहरूले आफ्नो सन्तानलाई जस्तोसुकै रूपमा जन्मिए पनि स्विकार गर्ने, आफ्नो बच्चा जस्तो भएपनि पाल्न तयार छौँ भन्ने खालको हुन्छन् भने कोही बच्चालाई नैदुख हुन्छ भन्ने खालका हुन्छन् । उनीहरूलाई सही निर्णय गर्न काउन्सिलिङ गर्नको लागि विज्ञहरूले सघाउँछन् । ३५ वर्ष उमेर नाघेका आमाहरूले बच्चा जन्माउँदा ९५ प्रतिशत बच्चाहरूमा डाउनसिन्ड्रोम देखिने भएकोले ३५ वर्ष माथिका विवाहित दम्पतीले बच्चाको योजना बनाउँदा फिटल मेडिसिन विज्ञलाई देखाउँदा स्वस्थ बच्चा जन्माउँन सकिन्छ ।

शिशुलाई गर्भमा नै रहँदा स्वास्थ्य समस्या आउनुको कारण के-के छन् ?
यदी गर्भको शिशुमा वंशाणुगत समस्या नै देखियो भने बच्चाको अङ्ग विकास नहुने, मुटुको आकार नै असामान्य हुने हुन्छ । यो वंशाणुगत कारण भयो । अर्को भनेको आमा इपिलेप्सी (छारे रोग) को सिकार छिन् र आमाले सोडियम भालप्रोएट भन्ने औषधि खाएमा गर्भको बच्चामा असर पर्छ । त्यस्तै रुबेला, भाइरलको इन्फेक्सनको औषधि खाँदा पनि बच्चामा गर्भमा नै रहँदा कान नसुन्ने, आँखा नदेख्ने, मस्तिष्कमा समस्या, कलेजोमा समस्या देखिन्छन् । अर्को एकदमै ध्यान पु¥याउनुपर्ने कारण भनेको गर्भावस्थामा धूमपान र मध्यपान गर्नु हो । यसले गर्भमा रहेको शिशुलाई मात्र नभएर बच्चा नै नहुने समस्या समेत निम्त्याउँछ । त्यसैले बच्चा गर्भमा रहने बित्तिकै विज्ञसँग परामर्शको लागि समय लिएमा गर्भधारण गरेको ११ देखि १३ हप्ताभित्रमा गम्भीर समस्या भएपनि पत्ता लगाउन र उपचार गर्न सजिलो हुन्छ । कुनै-कुनै समस्या भने गर्भावस्थाको बाँकी ३ महिनामा मात्र पत्ता लाग्ने खालको हुन्छ ।

नेपालमा फिटल मेडिसिन सेवा बिस्तारका चुनौतीहरू के-के छन् ?
फिटल मेडिसिन पद्धतिको लागि वंशाणुगत टेस्ट गर्नुपर्ने हुन्छ । जेनेटिक टेस्ट गर्ने एउटा मात्र ल्याव नेपालमा छ । त्यसमा पनि सबै प्रकारका जाँच हुँदैनन् । त्यसैले कतिपय केसमा जाँचको लागि बाहिर पठाउँनुपर्ने भएकाले यो पद्धति अलि महँगाे पर्न जान्छ । भविष्यमा देखा पर्ने समस्याहरूको पहिल्यै उपचार हुन्छ भन्ने कुरा सबैले बुझेका छैनन् । फिटल मेडिसिन र यसको महत्वको बारेमा बुझेर नै जाँच गराउन आउनेहरूको संख्या निकै नै न्यून छ । त्यसैले यो पद्धतिको विकास अलि चुनौतीपूर्ण छ । सरकारले नै फिटल मेडिसिन पद्धतिको लागि ल्याबको व्यवस्था, उपकरणको व्यवस्था गर्दै गएमा जाँच गर्न लाग्ने शुल्क र मानिसमा चेतनाको विकास पनि हुँदै जान्छ ।

भिडिओ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *