एमसीसीविरुद्ध एउटै मञ्चमा देखिँदै झलनाथदेखि नारायणकाजीसम्म

काठमाडाैँ । अमेरिकी सहायता परियोजना एमसीसी नेपालकाे संसद्बाट पारित भएपछि यसकाे विराेधी नेताहरू सङ्गठित हुन थालेका छन् । यसैअन्तर्गत शुक्रबार एक एमसीसीविराेधी कार्यक्रमलाई वाम नेताहरूले सम्बाेधन गर्दै छन् ।
एमसीसीविराेधी कार्यक्रम काठमाडाैँकाे खुलामञ्जमा हुने छ । कार्यक्रमलाई पूर्वप्रधान मन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता भीमबहादुर रावललगायतका नेताहरूले पनि सम्बाेधन गर्ने छन् । ‘उहाँहरू (खनाल, श्रेष्ठ र रावल) पनि आउँदै हुनुहुन्छ,’ एक नेताले भने, ‘उहाँहरूलाई निम्ताे पठाइसकिएकाे छ ।’
यस्तै ५ दलीय गठबन्धनबाट बाहिरिएकाे राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि उक्त विराेध कार्यक्रमलाई सम्बाेधन गर्नेछन् ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा [क्रान्तिकारी माओवादी] का महासचिव मोहन वैद्य ‘किरण’, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयाेजक आहुति, नेपाल कम्युनिष्ट पार्टी [मसाल]का महामन्त्री माेहनविक्रम सिंह, देशभक्त गणतान्त्रिक माेर्चाका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथाेकी ‘शुसिल’ले कार्यक्रमलाई सम्बाेधन गर्ने छन् ।
६ पार्टी र २ माेर्चाकाे अगुवाइमा चरणबद्ध रूपमा संघर्षका कार्यक्रमहरूसमेत घाेषणा गरिएकाे छ । फागुन २० देखि चैत्र ६ सम्मका कार्यक्रमहरूमा एमसीसीबारे थप अन्तरक्रियासँगै देशभर प्रदर्शनसम्म छन् । यसमा ६ पार्टी र २ माेर्चा सशक्त रूपमा लाग्ने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयाेजक आहुतिले बताए ।
नेपालकाे सदनबाट गत फागुन १५ गते एमसीसी पारित भएकाे छ । कम्प्याक्ट पारित हुनुलाई अमेरिकाले स्वागतयाेग्य कार्य भनेपनि त्याेसँगै पारित भएकाे १२ बुँदे ‘व्याख्यात्मक टिप्पणी’बारे भने केही बाेलेकाे छैन । विराेधी नेताहरूले भने अमेरिकाले यसलाई नस्वीकारेकाे र नेताहरूका लागि ‘न्यानाे थाङ्नाे’ मात्रै भएकाे टिप्पणी गरिरहेका छन् ।








