गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेटघाट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ ।

भेटमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिए ।

गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।

‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको थियो,’ गृहमन्त्री खाँणले भेटमा भने, ‘एकातिर एमसीसी पास गर्नु थियो । अर्कोतिर सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नु थियो । एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।’

भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुनसकेको बताए । एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार धन्यवाद दिएको राजदूत बेरीले बताए ।

एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफूहरूले पहिल्यै देखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए । ‘एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीले भने ।

राजदूत बेरीले शरणार्थीलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने सरकारको निर्णय प्रशंसनीय भएको बताए ।

एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकन राजदूतावास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिए ।

उनले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने विश्वास व्यक्त गरे ।

अन्त्यमा, गृहमन्त्री खाँणले नेपाल र अमेरिकाबीच अहिलेसम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सद्भावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *