रसियालाई खेल क्षेत्रको दबाब : प्रतिबन्धदेखि, प्रायोजन रद्दसम्म

काठमाडौँ । युक्रेनमाथि रसियाले आक्रमण गरेपछि विश्व्यापी तरङ्ग सिर्जना भएको छ । राजनीतिक रूपमा विश्वभर रसिया र युक्रेनका बारेमा धारणा सार्वजानिक भइरहेका छन् । अमेरिकालगायत युरोपेली देशले आर्थिक प्रतिबन्धहरू लगाउँदै जाँदा बहुराष्ट्रिय कम्पनीहरूले पनि रसियामाथि प्रतिबन्ध बढाउँदै लगेका छन् ।

युद्धलाई शान्तिमा बदल्ने र युद्धबाट पीडित भएकाहरूको मुहारमा खुसी ल्याउने खेल क्षेत्रपनि रुस युक्रेन प्रकरणबाट अछुतो छैन । यस्तोमा आक्रमक बनेको विश्व खेलकुदले एकपछि अर्को गर्दै रसियामाथि प्रतिबन्धका कदम चालिरहेको छ । रसियामाथि खेलकुदमार्फत ठुल्ठुला प्रतिबन्धका घोषणा भएका छन् ।

फिफा र युइएफद्वारा प्रतिबन्ध
रसियाको राष्ट्रिय फुटबल टीम र क्लबहरूलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको नियामक निकाय युईएफएले सबैखाले प्रतियोगिताका लागि प्रतिबन्धको घोषणा गरेका छन् ।

यी दुई निकायले अर्को सूचना नभएसम्म अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको जनाइएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउन भन्दै फिफा र यूईएफएले रुसमाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

फिफाको प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्लेअफ खेल गुमाउने भएको छ । त्यस्तै महिला टीमले युरो-२०२२ प्रतियोगिता गुमाउने छ । यस्तै रुसी क्लब स्पार्टक मस्कोले पनि युरोपा लिग खेल्न पाउने छैन । जसका कारण अन्तिम १६ मा उसको प्रतिद्वन्दी रहेको आरबी लेइपजिङले वाकओभर पाएर सीधै क्वाटरफाइनलमा स्थान बनाउने छ ।

फिफाले यसअघि रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रियगान बिनै अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो । तर युरोपियन राष्ट्रको चर्को दबाबका कारण फिफा प्रतिबन्धको निर्णय गर्न बाध्य भयो । रसियाली फुटबलको नियामक निकाय आरएफयुले भने यो निर्णयको चर्को विरोध गरको छ । उसले फिफा र युइएफएले अन्तर्राष्ट्रिय खेलकुद कानुनको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ ।

यसअघि रुसबाट च्याम्पियन्स लिगको फाइनल सारिएको थियो । भने विभिन्न युरोपेली देशले रुससँग विश्वकप छनोट नखेल्ने निर्णय गरेका थिए । जसका कारण फिफामाथि तिब्र दबाब परेको थियो ।

पुटिनको मानार्थ अध्यक्ष र ब्ल्याक बेल्ट खोसियो
युक्रेन विरुद्ध युद्धकोचौँथो दिन रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ)ले मानार्थ अध्यक्षको पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । महासंघले युक्रेनमाथिको आक्रमणपछि यो निर्णय गरेको जनाएको छ ।

महासंघले भनेको छ, ‘युक्रेनमाथिको युद्धलाई मध्यनजर गर्दै भ्लादिमिर पुटिनलाई महासंघको मानार्थ अध्यक्ष तथा जुडोको अन्तर्राष्ट्रिय सद्भभावना दूतका रूपमा उनको भूमिकालाई निलम्बन गरिएको छ ।’

साथै ६९ वर्षीय पुटिनको ब्ल्याक बेल्टको उपाधि समेत खोसिएको छ । पुटिनले ‘जुडोस् इतिहास, सिद्धान्त र अभ्यास’ पुस्तकका सह-लेखन समेत गरेका थिए । साथै महासंघले मे २० देखि २२ सम्म रसियामा हुने इभेन्टसमेत रद्द गरेको छ । उसले भनेको छ, ‘अन्तर्राष्ट्रिय जुडो महासंघ २०२२ मा काजन रसियामा हुने ग्रान्डस्लाम रद्द गर्ने निर्णयप्रति दुःख व्यक्त गर्दछ ।’

आईओसीद्वारा प्रतिबन्ध
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को कार्यकारी बोर्डको बैठकले रसिया र बेलारुसका खेलाडी तथा अफिसियलमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रसियाको समर्थनमा रहेको बेलारुसमाथि पनि प्रतिबन्ध लगाउने आईओसीले निर्णय गरेको छ ।

आईओसीको निर्णयपछि अन्तर्राष्ट्रिय इभेन्टहरूमा रसिया उपस्थित हुन पाउने छैन । बेइजिङमा हुने विन्टर पारा ओलम्पिकबाट समेत रसिया विमुख हुनेछ ।

विश्वव्यापी खेलकुद प्रतियोगिताहरूको अखण्डता र सबै सहभागीको सुरक्षाका लागि यो निर्णय गरिएको बोर्डको निर्णयमा जनाइएको छ । रसियन ओलम्पिक कमिटीले आईओसीको यो निर्णयलाई ओलम्पिक चार्टर्ड र नियमहरू विपरीत भएको भन्दै आलोचना गरेको छ ।

अन्य खेलकुदमा पनि बहिस्कार
फिफा र आईओसी प्रतिबन्धसँगै रुसमा आयोजना हुने अन्तर्राष्ट्रिय इभेन्टहरू धमाधम रद्द भइरहेका छन् । साथै रुसलाई अन्य देशमा समेत सहभागि हुनबाट बञ्चित गर्ने निर्णय धमाधम भइरहेका छन् । टेनिस, साइक्लिङ, फर्मुला वन, एथलेटिक्स, सुटिङ, पौडि ब्याडमिन्टन, हकी र पारा ओलम्पिक कमिटीले पनि रुसलाई प्रतिबन्ध लगाएका छन् ।

अन्तर्राष्ट्रिय टेनिस महासंघले रुस र बेलारुसलाई टेनिसको महत्वपूर्ण प्रतियोगितामा भाग लिनबाट बञ्चित गरेका छन् । उनीहरूको आईटीएफ सदस्यता पनि तत्काललाई निलम्बन गरिएको छ । साथै मस्कोमा २०२२ मा हुने तय भएका प्रतियोगिता रोक्ने निर्णय गरिएको छ । तर ग्रान्डस्लाम प्रतियोगिताहरूमा भने देशको र झन्डा र राष्ट्रिय गान प्रयोग नगरी प्रतिस्पर्धा गर्न पाउने भनिएको छ ।

प्रायोजक पनि त्याग्दै 
खेल मात्र होइन रसियाको खेल क्षेत्रका लागि आउने ‘स्पोन्सरसिप’हरूपनि धमाधम रद्द भइरहेका छन् । रसियाको मात्र नभइ विभिन्न क्लबहरूले रसियाली कम्पनी र उत्पादनसँगको प्रायोजनहरू तोड्ने क्रमपनि जारी रहेको छ ।

इंग्लिस फुटबल क्लव म्यानचेस्टर युनाइटेडले रुसी राज्य एयरलाइन एअरोफ्लोतको स्पोनसरसिप त्यागेको छ । क्लबका एक अधिकारीले युक्रेनमाथि भएको हमलाका कारण यो निर्णय गरेको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले विश्वभर आफ्ना समर्थकको चिन्ता र चासोलाई समर्थन गर्दै सहानुभूति स्वरूप यो निर्णय गरेको बताए ।

त्यस्तै जर्मन फुटबल क्लब साल्केले पनि रुसी लोगो आफ्नो टिमको टि-सर्टबाट हटाएको छ । एफसी साल्केले क्लबको सर्टबाट मुख्य प्रायोजक जाजप्रोमको लोगो हटाउने निर्णय गरेको हो । साथै युइएफएले पनि इनर्जी जाइन्ट जाजप्रोमसँगको प्रायोजन सम्झौतापनि रद्द गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *