युक्रेनको टेलिभिजन टावरमाथि हमला, पाँच जनाको मृत्यु

काठमाडौँ । रुसी फौजले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा पाँचजना मारिएको युक्रेनको आपत्‌कालीन सेवासम्बन्धी निकायले जनाएको छ । रुसले युक्रेनमा अब ‘लक्षित हमला’ गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो ।

बीबीसी मोनिटरिङलाई थाहा भएअनुसार रुसी क्षेप्यास्त्र हमलामा अरू पाँच जना घाइते भएका छन् । आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन पुगेको विवरणमा जनाइएको छ ।

‘लक्षित हमला’

आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ । ठूलो विस्फोट भएको र टावरबाट धुवाँको मुस्लो निस्किरहेको भिडिओ फुटेजमा देखिन्छ ।

आक्रमणले टेलिभिजन टावरलाई नै निशाना बनाएको वा नबनाएको विषयमा स्पष्ट हुन सकेको छैन । आक्रमणपश्चात्‌ पनि ३८० मिटर अग्लो टावर ठडिइरहेकै अवस्थामा छ । हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत्‌ प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले, ‘रुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेको’ जनाएको छ ।

यसअघि युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले सञ्चार सेवामा अवरोध उत्पन्न गराउने र युद्धमा युक्रेनको तर्फबाट आत्मसमर्पण गरिएको भन्ने मिथ्या खबर फैलाउने योजना बनाइरहेको बताएका थिए ।

यसैबीच युक्रेनी किएभस्थित एउटा गोप्य बङ्करबाट पश्चिमा सञ्चारमाध्यमसँग कुरा गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘युक्रेन अझै बलियो भएर लड्ने’ बताएका छन् ।

यद्यपि रुसविरुद्ध जारी लडाइँको सामना गर्न ‘युक्रेन एक्लैलाई गाह्रो हुने,’ उनले उल्लेख गरेका छन् । रुसी अतिक्रमणविरुद्ध उभिएपछि देशभित्र एक नायकका रूपमा उदाएका राष्ट्रपति जेलेन्स्कीले लडाइँ रोकिए मात्रै युद्धविरामसम्बन्धी वार्ता गम्भीर हुन सक्ने सीएनएन र समाचारसंस्था रोयटर्ससँग भने । -बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *