नारायणकाजी र विप्लवबीच भेटवार्ता

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट गरेका नेता श्रेष्ठ र महासचिव चन्दबीच बुधबार बिहान भेटवार्ता भएकाे हाे ।
नेपालकाे संसद्बाट एमसीसी पारित भएयता प्रचण्ड-श्रेष्ठबीच राम्राे सम्बन्ध छैन । यसपछि मंगलबार प्रचण्ड श्रेष्ठनिवास हात्तीवन नै पुगेका थिए । भेटमा प्रचण्डले मिलेरै जान प्रस्ताव गरेका थिए । जवाफमा श्रेष्ठले ‘पार्टी फुटाउने नै निष्कर्षमा त पुगेकाे छैन, तर अध्यक्षले नै निस्केर जाउ भनेपछि गाह्राे भयाे’ भनेर भनेका थिए ।
माओवादीभित्रकाे यस्ताे अवस्थामा चन्दसँगकाे उनकाे भेटलाई महत्त्वका साथ हेरिएकाे छ । चन्द श्रेष्ठलाई भेट्न आफैँ हात्तीवन पुगेका थिए । एमसीसी संसद्बाट पारित भएपछि श्रेष्ठसहित उनीनिकट नेताहरूले छलफललाई तीव्र पारेका छन् ।
एमसीसी पारित भएसँगै माओवादी र विप्लव नेतृत्वकाे नेकपाकाे एकता असम्भव भएकाे विप्लव नेताहरूले बताउन थालेका छन् । यसअघि प्रचण्डकै अगुवाइमा पार्टी एकताकाे प्रयाससमेत हुँदै आएकाे थियाे ।








