धनुषामा बालविवाहका घट्ना बढ्दै

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो । घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । एक्कासी त्यहाँ प्रहरी टोली पुगेपछि उत्साहको माहोलमा सन्नाटा छायोे ।

बेहुला–बेहुलीको विवाह गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली पुगेको थियो । प्रहरीले विवाह रोकाएपछि सबै आ–आफ्नो घरतर्फ लागे । ठाकुरकी १७ वर्षीया छोरी मनिषाको उमेर नपुग्दै विवाह भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेर विवाह रोक्न लगाइएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताउछन् ।

यस्तै उमेर नै नपुगेको भन्दै प्रहरीले गत शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–१४ की १७ वर्षीया रिन्कु दासको पनि विवाह रोकाएको थियो । “उमेर नपुग्दै विवाह गर्न लागिएको पाइएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाज, महिला समूहलगायतको विवाह रोक्न लगायौँ”, बस्नेतले भने । त्यही दिन तामझामका साथ विवाहको तयारी भइरहेको विदेह नगरपालिका–६ मा १४ वर्षीया चाँदनी मण्डलको पनि प्रहरी विवाह रोक्न लगाएको थियो ।

प्रहरीले डेढ महिनामा नौवटा बालविवाह रोक्न लगाएको छ । बालविवाह रोक्न प्रहरीले जिल्लामा अभियान नै चलाएको छ । अभिभावकमा बालविवाह कानुनी अपराध हो, बालविवाह गराए कानुनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने ज्ञानको समेत अभाव भएको बस्नेत बताउछन् । “दाइजोको लोभ, राम्रो केटा र घर पाएको भन्दै बालविवाह गराउनेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने ।

दलित अगुवा सिजेन्द्र सदा उमेर पुगेपछि  छोरीलाई चाहेजस्तो केटा नभेटिने तथा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति बढ्दै गएको बताउछन् । “हामीले पछिल्लो गाउँ गाउँमा सचेतना अभियान चलाउँदै आएका छौँ”, उनले भने ।

प्रहरी उपरीक्षक वसन्त रजौरे सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँगाउँमा बालविवाहबारे अन्तक्र्रिया गर्दै आएको बताउछन् । “विगतको भन्दा बालविवाहका घट्नामा कमी आएको पाइएको छ”, उनले भने । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नु गराउनु हुँदैन, गराएमा त्यस्तो विवाह स्वतः बदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *