व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारोमा पुर्याउनबाट राेक्याे : समाजवादी

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले एमसीसीसँगै अनुमोदनको गरिएको व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउनबाट रोकिएको दाबी गरेको छ ।
एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादीले एमसीसीले उत्पन्न गराएको जटिलता र संशयपूर्ण क्रियाकलापलाई व्याख्यात्मक घोषणाले अन्त्य गरेको दावी गरेको हो ।
पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इन्डो प्यासेफिक स्ट्राटेजी आईपीएसमा नेपाललाई सहभागी गराउने कार्य नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रित्व कालमा भएको आरोप लगाए । उनले जनता सडकमा उत्रेको नभए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले नेपाल सदैव स्वतन्त्र र असंलग्न परराष्ट्रको नीतिमा अघि बढ्न चाहेको बताए । उनले एमसीसीमाथिको व्याख्यात्मक घोषणाले यससम्बन्धी सवै भ्रम चिर्ने काम भएको जिकिर गरे । अध्यक्ष नेपालले एमसीसी पारित गर्न कांग्रेस लागि परेको अवस्थामा गठबन्धनलाई रोक्न आफूले मुख्य भूमिका निभाएको पनि दावी गरे । आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको भएपनि आफूहरुले सवै षड्यन्त्र समाप्त पारिदिएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको बताए । उनले सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको पनि बताए ।








