‘एमसीसीमा व्याख्यात्मक घोषणा हुनुलाई उपलब्धिका रूपमा लिनुपर्छ’ (पूर्णपाठ)

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता पारित हुनुलाई उपलब्धिका रूपमा लिन आह्वान गरेका छन् । नेपालले मंगलबार जारी गरेकाे वक्तव्यमा भनिएकाे छ— ‘हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ, एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा हुनुलाई उपलब्धिका रूपमा लिनुपर्छ ।’
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न खोजेको अध्यक्ष नेपालकाे आराेप छ । ‘एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्ने योजना ओली सरकारको थियो । अन्य केही दलहरूले समेत यथास्थितिमा एमसीसी पारित गर्ने भनिरहेको सन्दर्भमा हाम्रो पार्टीले उक्त कम्याक्टमा भएका कतिपय शंका र दोहोरो अर्थ लाग्ने विषयहरूको बारेमा स्पष्ट निरुपण नगरी एमसीसी कम्प्याक्टलाई यथास्थितिमा अनुमोदन गर्नु हुँदैन भनेर निर्णयसहित दृढ अडान लियो । उक्त अडानका कारण नै व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन हुने अवस्थामा पुग्यो,’ अध्यक्ष नेपालले भनेका छन् ।









