युक्रेनकाे राजधनीतर्फ बढे रुसी बख्तरबन्द, देखियाे ६४ किलाेमिटर लामाे ताँती

काठमाडौँ । रसियाकाे बख्तरबन्द फाैज युक्रेनको राजधानी किभतर्फ अघि बढेको छ । सोमबार खिचिएका स्याटेलाइट तस्वीरहरूले उत्तरमा ६४ किलोमिटरसम्म रुसी सेनाका बख्तरबन्द (सेनाका गाडी)का ताँती फैलिएको देखाएको हाे । यसअघि सो क्षेत्रमा २७ किलोमिटरसम्म बख्तरबन्द फैलिएको बताइएको थियो ।
अमेरिकी कम्पनी म्याक्सरले संग्रह गरेको ती तस्वीरहरूमा रुसी बख्तरबन्दले एन्टोनोभ विमानस्थलनजिकको सडकदेखि प्राइबिस्क्र सहरसम्मको क्षेत्रलाई ढाकेको देखिन्छ । ‘कन्भोय गुडिरहेको सडकनजिक इभान्किभको उत्तर र उत्तरपश्चिममा धेरै घर र भवनहरू जलिरहेको देखिन्छ,’ म्याक्सरले भनेको छ ।
युक्रेनको सीमाबाट मुस्किलले ३२ किलोमिटर टाढा रहेको दक्षिणी बेलारुसमा रुसले ग्राउन्ड अट्याक हेलिकोप्टर युनिट र थप स्थल सेना परिचालन गरेको पनि म्याक्सर टेक्नोलोजिले जनाएको छ ।
बिहीबार रुसी आक्रमण सुरु भएदेखि नै युक्रेनी फौजले मध्यकिभ जाने बाटोमा रुसी फौजले गरेको हमलालाई प्रतिकार गरेको छ । रुसी सेनाले सोमबार राजधानी कब्जा गर्नको लागि आक्रमणको पूर्वसन्ध्यामा एउटा राजमार्गमा युक्रेनीहरूलाइ ‘स्वतन्त्र रूपमा’ किभ छोड्न आग्रह गरेको थियो ।
(अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)








