कर्णालीका मुख्यमन्त्री शाहीले चार महिनामा के-के गरे ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो चार महिनाको कार्यप्रगतिको विवरण सार्वजनिक गरेका छन् । सोमबार मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलन गर्दै उनले आफू मुख्यमन्त्रीमा नियुक्त भएदेखि हालसम्म गरेका कामकारबाहीबारे जानकारी गराएका हुन् ।

विपत् व्यवस्थापन, राहत, उद्धार र पुनर्स्थापना
मुख्यमन्त्री शाहीले मुगुको छायानाथ-रारा नगरपालिकाको गमगढीमा भएको आगलागी पीडितहरूका लागि प्रदेश सरकारले तत्काल राहत वितरणका साथै क्षतिको विवरण अनुसार जिल्ला प्रशासन कार्यालय मुगुमार्फत ६१ लाख २५ हजार वितरण गरिएको पनि जानकारी गराएका छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको लिमी क्षेत्रका लागि २०० क्विन्टल खाद्यान्नमा ढुवानी अनुदान दिए खाद्यान्न ढुवानीको काम भइरहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रदेश भर साढे ६ किलोमिटर सडक कालोपत्रे
चार महिनाको अवधिमा उनले प्रदेशभर ६.७ किलोमिटर सडक कालोपत्रे भएको उल्लेख गरेका छन् भने १९४.५ किलोमिटर सडकको नयाँ ट्याक खोलिएको उनले बताए । शाहीले सार्वजनिक गरेको कार्यप्रगतिमा २३.३ किलोमिटर सडकको स्तरोन्नति गरिएको उल्लेख छ भने २ वटा सडक पुल र १ वटा झोलुङ्गे पुलको निर्माण भएको छ ।

जनता आवास कार्यक्रममार्फत ७७८ घर निर्माण भएका छन्, ऊर्जा खानेपानी तथा सिँचाइतर्फ ३५१ वटा, भौतिकतर्फ २१३, सशर्त अनुदानतर्फ २८५, मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत १०५५ योजनाहरू कार्यान्वयन चरणमा छन् । पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत १० वटा जिल्लामा ५५३ वटा कार्यक्रमहरू कार्यान्वयनमा रहेका मुख्यमन्त्री शाहीले जानकारी दिए । यस्तै, प्रदेश सरकारले आर्थिक वर्ष २०७८-०७९ को राजश्व सङ्कलन लक्ष्य बमोजिम यस अवधिमा ५३.५५५ अर्थात् ३२ करोड १३ लाख राजश्व संकलन गरेको छ ।

आर्थिक अनुशासन-सुशासन र सेवा प्रवाहको अवस्था
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहमतिका आधारमा १५ लाखभन्दा मुनीका टुक्रे योजनाहरूको कार्यान्वयनमा रोक लगाइएको छ । जिल्लास्थित कार्यालयहरूमा निकासा भइसकेको १५ लाख मुनिका योजनाहरूबाट ८३ करोड ७८ लाख ८४ हजार रकम फिर्ता आएको छ । सम्भाव्य योजनाहरूको अध्ययन भइराखेको छ ।

मन्त्रिपरिषद् बैठकलाई व्यवस्थित गरिएको छ र प्रत्येक हप्ताको बुधबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । बैठकबस्नु २४ घण्टाअघि प्रस्तावहरू पेस गर्नुपर्ने प्रणालीको विकास भएको छ । यस अवधिमा १३ वटा बैठकबाट ३९ निर्णयहरू भएका छन् । अधिकांश निर्णयहरू कार्यान्वयन भइसकेका छन् भने केही कार्यान्वयनकै चरणमा छन् ।

कर्णाली प्रदेश वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ स्वीकृत गरी प्रदेश मन्त्रालय र मातहत कार्यालयहरूको वित्तीय सुशासन मूल्याङ्कन गर्ने कार्यको थालनी गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याई प्रदेश मन्त्रालय र मातहतका कार्यालयको बेरुजु व्यवस्थापनको कार्य थालनी भएको मुख्यमन्त्री शाहीले उल्लेख गरेका छन् ।

कृषि तथा पर्यटनतर्फ
मुख्यमन्त्री शाहीले कृषि र पर्यटन क्षेत्रमा भएका गतिविधिका बारेमा पनि जानकारी गराएका छन् । हिमाली भेगका पाँच जिल्लाका न्यूनतम ५० भन्दाबढी भेडा पालन गर्ने कृषकहरूलाई औषधोपचार सहयोगका लागि भेडा पालक कृषकहरूको लगत संकलन गर्नेकार्य अन्तिम चरणमा पुगेको उनले बताए । किसान सूचीकरण अन्तर्गत हालसम्म ७४ हजार ७२४ परिवार किसान सूचीकरण प्रणालीमा आबद्ध भइसकेका छन् ।

कृषि तथा पशुपालन व्यवसायमा ब्याज अनुदान कार्यक्रम अन्तर्गत हालसम्म ८२० जना कृषकहरूलाई (बैङ्कमार्फत २०९ र सहकारीमार्फत ६११ जना)लाई ५८ करोड ४४ लाख लगानी भएको र व्याज अनुदान बापत रु १ करोड ५१ लाख भुक्तानी भइसकेको छ । सुर्खेतको दशरथपुरमा १५ करोडको लागतमा कोल्डस्टोरेज निर्माणको प्रक्रिया अघि बढेको पनि कार्य प्रगतिमा उल्लेख छ ।

गत कात्तिक १६ गते कर्णालीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *