एकै खेलमा २२ पेनाल्टीको रोमाञ्च (भिडिओसहित)

काठमाडौँ । फुटबलमा पेनाल्टीले रोमाञ्च थप्छ नै । कतिपय खेलमा चाहिँ पेनाल्टीले रोमाञ्च मात्र थप्दैन सिंगो खेल नै पेनाल्टीका कारणले सम्झिइन्छ ।

यस्तै खेल बन्यो काराबाओ कपको फाइनलमा सोमबार राती भएको चेल्सी र लिभरपुलको फाइनल खेल । विश्व फुटबल कै एक दुर्लभ यो खेलको निर्णय २२ पेनाल्टीबाट मात्र सम्भव भयो ।

दुई चर्चित इंग्लिस क्लबको फाइनल खेलको निर्धारित ९० र थप गरिएको ३० मिनेटमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे तर गोल भने गर्न सकेनन् । त्यसमा दुवै टिमका गोलकिपरको बचाउ उत्कृष्ट रह्यो । गोलरक्षकको उत्कृष्ट बचाउका कारण पेनाल्टी सुटआउटमा पुगेको खेलमा भने गोलकिपरको प्रदर्शन फितलो रह्यो ।

खेलाडीले मैदानमा धमाधम गोल गरिरहँदा समर्थक चाहिँ मुटु थिचेर बसिरहेका थिए । दुवैतिरबाट १०-१० जना खेलाडीले गोल गरे । दुवैतिरका गोलकिपरले कुनै एउटा पनि प्रदर्शन रोक्न सकेनन् । कुल २२ पेनाल्टी प्रहारमा मात्र विजेताको छिनोफानो भएको खेलमा लिभरपुल ११-१० गोलले सिजनको पहिलो उपाधि जित्न सफल भयो।

जब पेनाल्टी स्पेसलिस्टले नै मिस गरे पेनाल्टी
पछिल्लो समय चेल्सीको सफलताको कडीका रूपमा रहेका चेल्सीका प्रशिक्षक थोमस टुचेलले खेल पेनाल्टी सुटआउटमा जाने भएसँगै आफ्नो ‘भरपर्दो हतियार’ प्रयोग गरे । अर्थात् निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि टुचेलले पेनाल्टी स्पेसिलिस्ट मानिने गोलरक्षक केपा अरिजाबालागालाई मैदानमा पठाए । तर क्लबका तर्फबाट ११ औं पेनाल्टी प्रहार गरेका तीनै विश्वासी केपाले पेनाल्टी पोस्टभन्दा माथितिर उडाए । त्यही एउटा ‘मिस’ नै लिभरपुललाई उपाधि दिलाउन र चेल्सीलाई निराश बनाउन पर्याप्त रह्यो । १२० मिनेट मैदानमा उत्कृष्ट बचाउ गरेका गोलकिपर एडुवार्ड मेन्डीको ठाउँमा केपालाई मैदान पठाउने टुचेलको निर्णय सहि साबित हुन सकेन ।

क-कसले गरे गोल ?
पेनाल्टी सुटआउटमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलिहरले गोल गरे।

चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर, एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे। चेल्सीका गोलकिपर केपा एरिजाबालगाले भने पेनाल्टी चुकाए ।

चेल्सीको तीन गोल तर अफसोच !
निर्धारित समयमा पनि दुवै तर्फबाट निकै सनसनीपूर्ण खेल भएको थियो । दर्शक र समर्थकले वास्तविक फाइनलको मज्जा लिएको खेलमा चेल्सीले लिभरपुलको पोस्टमा तीन गोल छिराएको थियो । तर तीनै गोल अफसाइड भए र गोलको मान्यता पाएनन् । साथै मेसन माउन्टले दुई गोलका सुन्दर मौका चुकाए । साथमा लिभरपुललाई रोक्न निर्धारित समयका गोलरक्षक एडुवार्ड मेन्डीको भूमिका पनि साँच्चिकै लोभलाग्दो रहेको थियो ।

क्लोप बने ट्रफी चुम्ने पहिलो जर्मन प्रशिक्षक
दुई पटक फाइनल पुगेर पनि ट्रफि चुम्न असफल भएका लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले अन्तत पहिलो पटक यो उपाधि चुमे । त्यसो त चेल्सीले जितेको भएपनि जर्मन प्रशिक्षकले नै काराबाओ कपको उपाधि चुम्ने थिए । तर काराबाओ कपको उपाधि उचाल्ने पहिलो जर्मन प्रशिक्षक को बन्ला भन्नेमा भने क्लोपले बाजी मारे। उनले लिभरपुललाई नवौँपटक काराबाओ कपको उपाधि दिलाएका हुन् । पछिल्लो पटक लिभरपुलले २०११-०१२ को उपाधि जितेको थियो। जितसँगै लिभरपुल सिजनका चारै उपाधिको यात्रामा कायमै छ । प्रिमियर लिगमा लिभरपुल सिटीलाई पछ्याइरहेको छ । एक खेल हातमा हुँदा तत्काललाई ६ अंकले पछि रहेको लिभरपुल पुन तीन अंकको अग्रता कायम गर्ने प्रयासमा हुने छ।

त्यस्तै एफए कपको पाँचौ चरणमा बुधबार लिभरपुलले नर्विच सिटीसँग खेल्दै छ । त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ बाट क्वाटरफाइनलमा पुग्न पनि लिभरपुल सहज अवस्थामा छ । अब उसलाई दोस्रो लेगमा इन्टरमिलानसँग बराबरी मात्र पनि यसका लागि पर्याप्त हुनेछ ।

भिडिओः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *