पारित भएसँगै एमसीसीबारे रहेका भ्रम समाप्त भए : कांग्रेस

काठमाडाैँ । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएपछि यसमा रहेका भ्रमपनि समाप्त भएकाे उल्लेख गरेकाे छ ।

सोमबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसले एमसीसीबारे बाँकी रहेका भ्रमलाई चिर्दै विकास परियोजना अघि बढेकाे बताएकाे हाे ।

सम्मेलनमा बाेल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे नियोजितरूपमा भ्रम फैलाइए पनि अब त्यो शंका अब नरहेको बताए । एमसीसीबारे नेपाल र अमेरिकाको बुझाइ समान रहेको पनि उनले दाबी गरे ।

‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ । एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन, केही नेताले दोहोरो चरित्र देखाएका छन् । यो विशुद्ध आर्थिक सहायता हो । यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन । जुन भ्रम थियो त्यो अब दूर भएको छ । अब यसलाई नेपालको आर्थिक विकासमा लगाउनुपर्छ’ प्रवक्ता महतले भने । उनले एमसीसी सैन्य परियोजना भएको भन्ने कुरा सरासर झूटो भएको पनि बताए ।

विदेशी सहयोगका विषयमा नेपाली कांग्रेसको फरक–फरक धारणा नहुने भन्दै एउटै मापदण्ड र धारणा रहेको महतले दाबी गरे । अब एमसीसीको सदुपयोग गर्नेतिर लाग्नुपर्ने उनको भनाइ छ ।

उनले एमसीसी पारित गर्ने पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण निर्णयप्रति पार्टीले धन्यवाद दिएको बताएका छन् । त्यस्तै, प्रमुख प्रतिपक्षले पनि एमसीसी पारित गर्न सघाएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =