‘एमसीसी विरोधीको नेपाल बन्द प्रभावहीन’

काठमाडौँ । एमसीसी सम्झौता आइतबार संसद्‍बाट पास गरिएको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ । राजधानीका मुख्य राजमार्ग तथा सडकहरूमा बिहानैदेखि सवारीसाधनको चहलपहल बाक्लो देखिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विद्यालयमा आंशिक प्रभाव परेको भएपनि बजार तथा पसल अरू दिनजस्तै खुलेका छन् । ‘म आफै काठमाडौँका विभिन्न स्थानमा पुगेर भर्खरै फर्किएको छु,’ उनले मकालुखबरसँग भने, ‘बन्द प्रभावहीन छ, बन्दकर्ता देखिएका छैनन् । हामीले सुरक्षा सतर्कता बढाएका छौँ ।’

अहिले काठमाडौँ उपत्यकाका मुख्य सडक तथा चोकहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको छ । उपत्यका बाहिरबाट पनि अहिलेसम्म कुनै अप्रिय घटनाको खबर नआएको प्रवक्ता केसीले बताए । ‘देशभरको बन्दको प्रभाव सामान्य रहेको रिपोर्टिङ भएको छ,’ उनले भने, ‘कहीँ कतै हराउनका लागि शङ्कास्पद वस्तु राखिएको खबर आएपनि बन्दकर्ताको उपस्थिति छैन ।’

तर, काठमाडौँमा बिहानै बन्दकर्ताले दूधको गाडी र बसमा तोडफोड गरेका छन् । काभ्रे र तनहुँमा शङ्कास्पद वस्तु फेला परेका छन् भने कञ्चनपुरको भिमदत्तनगरमा प्रहरीसँगको झडपमा दुई बन्दकर्ता घाइते भएको खबर छ । एमसीसी संसद्‍बाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिस्ट संगठन र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *