देशको अवस्था देखेर भक्कानिन्छन् युक्रेनी खेलाडी

काठमाडौँ । रुस-युक्रेन युद्ध जारी छ । यी दुई छिमेकी देशबीचको युद्धको त्रासदी भने संसारभर फैलिएको छ । रुसले युक्रेनमा गरेको आक्रमणबाट सबैभन्दा बढी युक्रेनी नागरिक नै प्रभावित हुने नै भए । देश भित्र मात्र होइन देश बाहिर रहेका युक्रेनी खेलाडीलाई पनि यसले कम तनाब दिएको छैन ।

यसैबिच इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी र एभर्टनबीच शनिबार राती भएको खेल अघि दुई क्लबमा रहेका दुई खेलाडी आफ्नो देश सम्झिएर भक्कानिए । म्यानचेस्टर सिटीका डिफेन्डर अलेक्जेन्डर जिनचेन्कोले एभर्टनसँगको खेलका लागि मैदानमा भेटिएका एभर्टनका अर्का युक्रेनी खेलाडी भिटाली म्यकोलेंकोलाई लामो समय अँगालो हाले । दुबै खेलाडीले आँशु थाम्न सकेनन् । खेल अघि मैदानमा एकले अर्कोलाई देख्नासाथ उनीहरू भावुक भएका थिए । उनीहरूले आँखाबाट आँशु झार्दै लामो समय अँगालो हाले ।

ईपीएल तथा जर्मन लिग बुन्डेस लिगाका क्रममा सबै क्लबले युक्रेनको पक्ष लिँदै युद्ध रोक्न आग्रह गरिरहेका छन्। युरोपमा युक्रेनलाई सहानुभुति र रुसलाई युद्ध रोक्न आग्रह गर्ने क्रम बढ्दो छ ।

इंग्लिस प्रिमियर लिगका पछिल्ला हरेकजसो खेलमा युद्ध रोक्न आग्रह गरिँदै आएको छ । सिटी र एभर्टनबिचको खेलमा पनि दुबै टीमले युद्ध रोक्न आग्रहसहित ब्यानर प्रदर्शन गरेका थिए । एभर्टनका खेलाडी तथा अफिसियलले युक्रेनको झन्डा ओडेर ‘हामी युक्रेनको साथमा छौँ’ भन्दै मार्चपार्स गरेका थिए। त्यस्तै सिटीका खेलाडीले टि-सर्टमा ‘युद्ध रोकौँ’ भन्दै जर्सी प्रदर्शन गरेका थिए।

त्यस्तै लिड्स युनाइटेड र टोटन्ह्यामबीचको खेलमा लिड्सले आफ्नो विज्ञापनको होर्डिङ बोर्डमा नै युक्रेनको झन्डाको साथ नीलो र पंहेलो रङबाट मुटु बनाएर युक्रेनलाई सपोर्ट गर्दै युद्ध रोक्न आग्रह गरेको थियो।

समग्रमा अहिले विश्वभर यी दुई देशबिचको युद्ध रोक्न प्रयास भइरहेको छ । युद्ध कहिले रोकिन्छ भनेर भन्न सकिने अवस्था नभएपनि विश्वको प्रार्थना भने जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *