व्याख्यात्मक टिप्पणीबारे अमेरिकी जवाफ आएपछि एमसीसी पारित गरौँ : जसपा सचेतक

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रमोद साहले एमसीसीबारेकाे व्याख्यात्मक टिप्पणीमा अमेरिकाकाे जवाफ आएपछि मात्रै पास गरिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेता साहले व्याख्यात्मक टिप्पणीमा अमेरिकी जवाफ महत्वपूर्ण रहेको बताए । त्यस्तै उनले सम्झौतामा राष्ट्रिय सहमति जुटाउन माग गरेका छन् ।
एमसीसीमा उल्लेखित सैन्य रणनीति, बौद्धिक सम्पत्ति, लेखा परीक्षण, ट्रान्समिसन प्रसारण लाइनको ठाउँ, कर छुट, नेपालको संविधानमाथिको विषयमा व्याख्यात्मक घोषणाले निर्क्यौल गरेको भन्दै उनले अमेरिकाको धारणापछि अघि बढाउनुपर्ने बताए । साहले एमालेका अवरोधका बीच छलफल गर्ने अवस्था आउनु दुखद भएको बताए ।
‘यो अनुदान हो, गरिब देशलाई सहयोग हो, अर्को कुनै राष्ट्रको स्वाधिनतामा खतरा हुने गतिविधि गर्दैन र पवित्र सोचका साथ अघि बढ्ने अमेरिकाको चाहना हो भने जति पनि व्याख्यात्मक टिप्पणी अमेरिकालाई पठाएको छ त्यसमा अमेरिकाबाट जवाफ आएपछि यसलाई पारित गर्नुपर्ने अवस्था सिर्जना हुनुपर्छ,’ उनले भने । त्यस्तै, उनले सबै पार्टीलाई समझदारी गरेर यसलाई पारित गर्नुपर्ने बताए ।








