संसद् बैठक आज, कार्यसूचीमा एमसीसी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।
गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरू एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् । यद्यपि, हालसम्म सहमति जुट्न सकेको छैन ।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउने बताए । निर्धारित समयभित्र उनीहरूले आफ्नो धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेछन् ।








