पशुपतिमा महाशिवरात्रिको चहलपहल (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको चहलपहल शुरू भएको छ । महाशिवरात्रिको केही दिनअघि नै पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु सन्त तथा नागा बाबाहरूको चहल पहल शुरू भएको हो ।

देशभरका विभिन्न ठाउँबाट तथा भारतबाट समेत जोगी तथा साधु सन्त भगवान् शिवको दर्शन गर्न एक साता अघिदेखि नै पाशुपत क्षेत्र आउने गर्दछन् । हिन्दु धर्ममा महाशिवरात्रि पर्वको विशेष महत्त्व छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व मनाइँदैछ ।

पौराणिक मान्यता अनुसार महाशिवरात्रिको दिन भगवान् शिव, पहिलो पटक शिवलिङ्ग स्वरूपमा प्रकट भएको धार्मिक मान्यता छ । उक्त समयमा सबैभन्दा पहिले उनको यो स्वरूपको विधिपूर्वक पूजा–अर्चना भगवान् ब्रह्मा र विष्णुले गरेका थिए भन्ने विश्वास गरिन्छ ।

यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ । यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ।









