‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ पूर्वमन्त्री खरेललाई

काठमाडौँ । यस वर्षको ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेललाई प्रदान गरिएको छ । महेन्द्रनारायण निधिको १०० औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा खरेललाई रु एक लाख एक हजारसहित सम्मान गरिएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई पुरस्कार प्रदान गरिन् ।राष्ट्रपतिले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरे । यस्तै ‘प्रेमसागरी देवी निधि पुरस्कार’बाट सरस्वती चौधरी र सुवर्ण ज्वारचन पुरस्कृत भएका छन् । उनीहरूले जनही रु एक लाख एक हजार प्राप्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा महेन्द्रनारायणले युवावस्थादेखि गरेको सङ्घर्षको चर्चा गरेकी थिइन् । उनले अहिंसात्मक आन्दोलनका पक्षपाती निधिले सधैँ सत्य, न्याय, समानताका पक्षमा आफूलाई उभ्याएर एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्।

कार्यक्रममा कांग्रेस नेता विलमेन्द्र निधिले सामाजिक र राजनीतिक रुपान्तरणमा पिता महेन्द्रनारायणको योगदान नेपालको राजनीतिक इतिहासमा सधैँ स्मरणीय रहेको बताए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =