प्रधानमन्त्रीलाई ओलीको वचन- एमसिसी फेलैचाहिँ हुन दिइन्न

काठमाडाैँ । सत्तागठबन्धनमै रहेका दलहरूबाट एमसिसीमा सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ समीकरणका लागि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग ‘निर्णायक’ संवाद थालेका छन् । ओलीले पनि साझा सहमति बने एमसिसी फेल हुन नदिने वचन दिएका छन् ।

संसदबाट एमसिसी अनुमोदन गर्न सत्तागठबन्धनमै रहेका दलहरूबाट सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी एमालेसँग ‘निर्णायक’ संवाद थालेका छन् । एमाले अध्यक्ष केपी ओलीले पनि ‘एमसिसी फेल हुन नदिने’ वचन दिएका छन् । सभामुखको विकल्प खोज्ने र एमसिसी अनुमोदन गर्ने गरी प्रधानमन्त्री देउवाले एमालेसहितको नयाँ गठबन्धन बनाउने पहल थालेका हुन् ।

एमसिसी अनुमोदनको सुनिश्चितता तय गर्न बिहीबारको संसद् बैठक स्थगन गरेर प्रधानमन्त्री देउवाले आफैँ र निकट नेताहरूमार्फत वैकल्पिक गठबन्धनका लागि दिनभर वार्ता गरे । प्रधानमन्त्री देउवा र ओलीबीच दिउँसो संसद् भवन नयाँ बानेश्वर र साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा सदनको अवरोध हटाउने, सभामुखको विकल्प खोज्ने, एमसिसी अनुमोदन गर्ने र सत्ता साझेदारीका विषयमा छलफल भएको छ । स्रोतका अनुसार ओलीले एमसिसी फेल हुन नदिने ढाडस प्रधानमन्त्री देउवालाई दिएका छन् ।

‘एमसिसी फेलैचाहिँ हुन दिइन्न,’ स्रोतका अनुसार प्रधानमन्त्रीसँगको छलफलमा एमाले अध्यक्ष ओलीको भनाइ थियो । छलफल सकारात्मक ढंगले अगाडि बढेको भन्दै ओलीसँगको छलफलबारे प्रधानमन्त्री देउवाले ‘कोर टिम’भित्र ब्रिफिङ गरेका छन् । उनी अमेरिकाले दिएको १६ फागुनको समयसीमाभित्र जुनसुकै हालतमा एमसिसी अनुमोदन गर्ने रणनीतिमा छन् ।

प्रधानमन्त्री देउवासँगको छलफललगत्तै एमाले अध्यक्ष ओलीले संसद् भवनमै माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका थिए । लगत्तै दुई पार्टीका अन्य नेताहरूसहित पनि छलफल भएको थियो । स्रोतका अनुसार बैठकमा माओवादी नेता देव गुरुङ ‘एमसिसी राष्ट्रघाती सम्झौता भएकाले पास गर्न नहुने’ भन्दै बोलिरहेका थिए । तर, एमाले अध्यक्ष ओलीले उनलाई बीचमै रोकेर आक्रोश व्यक्त गरेका थिए । ‘राष्ट्रघाती–राष्ट्रघाती भनिराख्नुभएको छ । यही कुरा मैले बुझेको छैन, केमा राष्ट्रघाती छ ? सम्झौता राष्ट्रघाती भएको भए म नै संसद्मा ल्याउँथेँ ?’ स्रोतका अनुसार बैठकमा ओलीको भनाइ थियो । उनको प्रतिक्रियापछि एकछिन बैठकमा मौनता छाएको थियो ।

एमालेले सदनमा जारी राखेको अवरोध खोल्न एमालेबाट विभाजित भएर एकीकृत समाजवादीमा लागेका १४ सांसद हटाएको सूचना संसद्मा टाँस्ने वा सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोग ल्याउन कांग्रेस तयार हुनुपर्ने सर्त राखेको छ । साँझ बालुवाटारमा ओलीसँग भएको वार्तामा प्रधानमन्त्री देउवाले एमालेका चासोहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ओलीले एमसिसीसहितका मुद्दामा साझा धारणासहित अगाडि बढ्न पाँचदलीय गठबन्धन तोडेर सहमतिका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

छलफल सकारात्मक दिशामा अगाडि बढेको दाबी गर्दै एमाले र कांग्रेसका नेताहरूले सहमतिका लागि शुक्रबार बिहान पुनः छलफल हुने बताएका छन् । ओलीको त्यस्तो प्रस्तावपछि प्रधानमन्त्री देउवाले सदनको अवरोध खुलाएर एमसिसी पास गराउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको भन्दै शुक्रबार अपराह्नसम्म एमालेसँगको सहमति टुंगो लाग्ने गरी ठोस प्रस्ताव ल्याउने प्रतिबद्धता जनाएका थिए । एमालेसहित जसपाको डा. बाबुराम भट्टराई समूह र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत समेटेर वैकल्पिक गठबन्धन बनाउने प्रधानमन्त्री देउवाको कोसिस छ ।

एकीकृत समाजवादीका १४ सांसदमाथिको कारबाही र सभामुखको राजीनामालाई मुद्दा बनाएर एमालेले ६ महिनादेखि संसद् अवरोध गर्दै आएको छ ।देउवानिकट मानिने कांग्रेसका एक पदाधिकारीका अनुसार बिहीबार एमालेका शीर्ष नेताहरूसँग सभामुखको विकल्प खोज्ने, एमसिसी पारित गराउने र सत्ता साझेदारीसमेत गर्ने विषयमा एमालेसँग सकारात्मक छलफल भएको छ । बैठकपछि सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सदन चलाउने र एमसिसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल भएको र वार्तालाई निरन्तरता दिइने बताए ।

‘संसद्लाई व्यवस्थित ढंगले सञ्चालन गर्न संसद् भवनमा पनि प्रधानमन्त्रीज्यूले छलफल गर्नुभयो, बालुवाटारमा पनि लामो छलफल भयो र उहाँले सबैको सहयोगमा संसद्बाट एमसिसीलाई अनुमोदन गरौँ भन्ने प्रस्ताव गर्नुभयो,’ बैठकपछि कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले पुरानै कुरा राख्नुभएको छ । उहाँले हामीले जुन कुराले संसद्मा प्रवेश गर्न पाएका छैनौँ, त्यो कारण तपाईंलाई पनि थाहा छ र त्यो कारणको निराकरण नभएसम्म संसद्मा उपस्थित भएर विचार राख्न कठिनाइ छ भन्नुभएको छ, छलफल अझै जारी रहन्छ ।’

संघीय सरकारमा सामेल नहुने, तर माओवादी केन्द्रले नेतृत्व लिएको प्रदेश सरकारहरूको नेतृत्व लिएर देउवा नेतृत्वको सरकार अल्पमतमा परे विश्वासको मत दिएर प्रतिपक्षमै बस्न एमाले सकारात्मक बनेको छ । तर, ठोस प्रस्ताव बन्न बाँकी छ ।

वार्ता सकारात्मक दिशामा अगाडि बढेपछि बालुवाटारबाट फर्किएका अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेललगायतसँग राति अबेरसम्म पुनः छलफल गरेका थिए । बैठकमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा सरकार एमसिसी अनुमोदन गर्ने पक्षमा रहेकाले सहयोग गर्न आग्रह गरेका थिए ।

बालुवाटारमा भएको दोस्रो वार्ताअघि प्रधानमन्त्री देउवाले बिहीबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा एमाले अध्यक्ष ओलीलाई भेटेर एमसिसीको पक्षमा उभिएर सहयोग गर्न आग्रह गरेका थिए । भेटमा एमालेले उठाउँदै आएका माग पूरा गरेर सदन सुचारु गर्न तयार रहेको र अहिलेको गठबन्धनसमेत भत्काउन तयार रहेको सन्देश उनले दिएका थिए ।

संसद् भवनको छलफलमा कांग्रेसबाट महामन्त्री गगन थापा, सरकारका प्रवक्ता कार्की तथा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए । प्रधानमन्त्री देउवाको यस्तो प्रस्तावले नयाँ सहमतिको वातावरण बनेपछि एमाले अध्यक्ष ओली उनलाई भेट्न साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

दुवै पार्टीका दोस्रो तहका नेता बाहिरिएपछि ओली र देउवाबीच केहीबेर बेग्लै ‘वन अन वन’ संवाद भएको थियो । उच्च स्रोतका अनुसार त्यसक्रममा उनीहरूबीच अहिलेको सत्तागठबन्धन भत्किएपछि आगामी चुनावसम्मको समीकरणसम्मका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । गठबन्धन भत्काएर सभामुख सापकोटालाई महाभियोग लगाएर हटाउन तयार भए संसद् खोलेर एमसिसीबारे तत्काल निर्णय लिन तयार रहेको जनाउ एमालेले दिएको थियो ।

जसपाका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई संसद्मा कायम रहेको सदस्य संख्याको बहुमतले अनुमोदन गर्ने विकल्पमा जान सुझाव दिएको बताए । गठबन्धनले यसमा सहयोग नगरे प्रतिपक्षको सहयोग लिएर पनि अगाडि बढ्न सकिने उनको भनाइ छ । ‘एमसिसी सामरिक स्वार्थमा गिजोलियो, यसबाट माथि उठेर अब एमसिसी सबैको सहमतिमा पास गरौँ, कर्ममाण्डी पासमा नलागौँ, उपस्थितको बहुमतले होइन, संसद्मा हाल कायम सदस्य संख्याको बहुमतले पास गरौँ भन्ने सुझाव दिएको छु,’ प्रधानमन्त्री देउवासँग भेट गरेका भट्टराईले नयाँ पत्रिकासँग भने, ‘सर्वसम्मतले अनुमोदन गर्ने हो भने संसद् खोल्नुपर्छ । सदन खोल्न विपक्षीका चासो पनि सम्बोधन गर्नुपर्छ । अहिलेकै गठबन्धनले अनुमोदन गरे बहुमत पुग्छ । यो भएन भने प्रतिपक्षको सहयोग लिएर पनि गर्न सकिन्छ ।’

त्यसो त नेताहरूले बिहीबार दिउँसै पाँचदलीय गठबन्धनको भविष्य नरहेको संकेत गरेका थिए । संसद् भवनमा पत्रकारसँगको कुराकानीमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रहितका अगाडि गठबन्धन गौण हुने भन्दै सम्भावित राजनीतिक अवस्थाबारे जनाउ दिएका थिए ।

‘गठबन्धन बन्छन्, बिग्रन्छन्, फेरि बन्छन्, फेरि बिग्रन्छन् । ऐतिहासिक प्रक्रियामा यी सब अस्थायी घटनाक्रम हुन् । देश, जनता र राष्ट्रको हितलाई कहिल्यै छोडिँदैन । हामी त्यसमा दृढतापूर्वक हामी अगाडि बढ्छौँ,’ खनालको भनाइ थियो, ‘एमसिसीमा कुरा कहिल्यै मिल्दैन । मिल्ने आसै नगर्नुस् ।’

बिहीबार दिउँसो नै कांग्रेस महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षसँग सबै विषयमा छलफल गर्न कांग्रेस तयार रहेको बताएर वैकल्पिक गठबन्धनको सम्भावना देखाएका थिए । ‘प्रमुख प्रतिपक्षसँग कांग्रेस सबै विषयमा खुला छलफल गर्न तयार छ । उहाँहरू हिजो सरकारमा हुँदै गर्दा पनि हामीले यसमा समर्थन गरेको हो । र, हामी सरकारमा हुँदा उहाँहरूको समर्थनको अपेक्षा गर्छौँ,’ थापाको भनाइ थियो ।

गृहमन्त्री बालकृष्ण खाणले संसद् बैठकलाई सहजतापूर्वक चलाउन सरकारले प्रयत्न गरिरहेको बताएका थिए । संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै खाणले भने, ‘सरकार सदन सुचारु गराउन चाहन्छ । सदनलाई सुचारु गर्न सरकारले राजनीतिक दलका नेताहरूसँग संवाद गर्ने, सदनलाई सहज गराउने र सदनको प्रक्रियामा अघि बढेका प्रस्तावहरूलाई टुंगोमा पु¥याउने प्रयत्न गरिरहेको छ ।’

एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री देउवा सीधा–सीधा लेनदेनका लागि तयार भए एमाले सदन खुलाउन तयार रहेको बताएका थिए । ‘सत्तापक्षको मुख्य दल कांग्रेस र प्रतिपक्षबीच संवाद हुनु राम्रो हो । तर, त्यो संवादले आजको संकटको समाधान गर्छ कि गर्दैन भन्ने कुनै सुनिश्चितता भएको छैन । सत्तापक्षले हामीले उठाएको माग सम्बोधन नगरी ‘ब्ल्यांक चेक’ दिनुस् भनिरहनुभएको छ । नेकपा एमालेले शेरबहादुरजीलाई ब्ल्यांक चेक दिँदैन ।’ –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =