‘दातृ निकायको अनुदान मुलुकलाई हानि नहुने गरी स्वीकार गर्नुपर्छ’

काठमाडाैँ । नेपाल ट्रेड युनियन कांग्रेसले विदेशी दातृ निकायबाट प्राप्त हुने सहयोग अनुदान मुलुकको सुरक्षालगायत संवेदनशील विषयमा हानि नहुने गरी स्वागत गर्नुपर्ने बताएको छ ।
ट्रेड युनियनका महासचिव योगेन्द्रकुमार कुँवरले आज एक विज्ञप्ति जारी गरी विदेशी दातृ निकायबाट प्राप्त हुने अनुदान वा सहयोगबाट मुलुकको सुरक्षालगायतका संवेदनशील विषयमा हानि नहुने गरी सहयोगको स्वागत गर्नु उपयुक्त हुने बताएका हुन् ।
“मुलुकको समग्र आर्थिक सूचकाङ्क नकारात्मक भएको अवस्थामा भोलिका दिनमा मुलुकले भोग्नुपर्ने गम्भीर आर्थिक सङ्कटलाई कम गर्न यस्ता अनुदानले सहयोग पुग्ने विश्वास लिएका छौँ”, महासचिव कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले व्यापार घाटा बढेको वर्तमान अवस्थामा दातृ निकायले दिने अनुदान, सहयोगले उत्पादन बढाउन, व्यापार घाटा कम गर्न र रोजगारी वृद्धि गर्न सहयोग पुग्ने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले दुई वर्षअघि नै संसद्मा दर्ता भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद्बाट पारित गर्न हुने वा नहुने बीचमा सिङ्गो मुलुक विभाजित हुनु दुःखद् कुरा भएको बताए ।
उनले मुलुकका विभिन्न राजनीतिक दलले सरकारमा रहँदा वा नरहँदा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा आफैँले सहजीकरण गरेको विषयलाई अतिरञ्जित बनाई फरक ढङ्गले उठाउने र द्वन्द्व गर्ने गराउने विषयले मुलुकको हित नगर्ने बताए ।








