विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा छुट

काठमाडाैँ । विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरूलाई नेपाली नागरिक सरह (आन्तरिक हवाई जहाजको भाडामा) छुट दिने सहमति गराएको हो ।
यसै गरी, पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई छुट दिने निर्णय गरेको छ ।
यसरी विदेशबाट आउने नागरिकलाई हवाई भाडामा छुट दिने सहमती गर्ने हवाई जहाज कम्पनीहरूमा बुद्ध एयरलाइन्स प्रालि तथा यति एयरलाइन्स प्रालि रहेको सो समितिका संयोजक राजाराम गिरीले बताए । ‘विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिकसरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्’, उनले भने- ‘अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौं, उहाँहरूले पनि छुट दिनु हुनेछ ।’ -नेपाल समाचारपत्र दैनिकबाट








